नेपालका पूर्वप्रशिक्षक अल्मुताइरी श्रीलंकाको मुख्य प्रशिक्षक नियुक्त

Image

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी श्रीलंका राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सोमबार श्रीलंकन एफएले सामाजिक सञ्जालबाट अल्मुताइरीको नियुक्ती सार्वजनिक गरेको हो । उनले यसअघि नै श्रीलंकन टोलीलाई दुई खेल खेलाइसकेका थिए ।

आन्तरिक प्रशिक्षकको रुपमा उनले एसियन कप तेस्रो चरणबाट टोलीलाई छनोट गराएका थिए । उनको प्रशिक्षणमा श्रीलंकाले बलियो कम्बोडियालाई हराएपछि अल्मुताइरीको श्रीलंका बसाई लम्बिएको हो ।

यसअघि अल्मुताइरी नेपाली राष्ट्रिय टिमसँग जोडिएका थिए । निकै विवादास्पद कार्यकाल बनेपछि उनी नेपालका लागि सफल प्रशिक्षक रहे ।उनकै कार्यकालमा नेपाल पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको फाइनल खेलेको हो ।

नेपाल पहिलो पटक साफको फाइनलमा स्थान बनाउन सफल भएको थियो । १० सिनियर खेलाडीसँगको विद्रोह र वर्तमान नेतृत्वसँग असन्तुष्ट रहेपछि उनले नयाँ सम्झौता गरेका थिएनन् ।