विश्व कप लिग टु मा युएई फेरी पराजित

Image

एजेन्सी । विश्व कप लिग टु मा युएई फेरी पनि पराजित भएको छ । शनिवार भएको त्रिकोणात्मककाे सिरिज खेलमा नेदरल्यान्ड्ससँग युएई ६७ रनले पराजित भएको हो ।

नेदरल्यान्ड्सले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको युएई ४५.२ ओभरमा १ सय ७४ रन बनाउँदै अल आउट भयो । युएईका लागि अलि नासिरले ३९ बलमा सर्वाधिक ४५, कप्तान राहुल चोपराले ६३ बलमा ४३ तथा ओपनर तनिश सुरीले ३३ बलमा ४५ रन बनाए । नेदरल्यान्ड्सका लागि रोफेल भान डर मिर्वे, आर्यन दत्त र कायल क्लेनले समान ३ तथा कोलिन एकरमनले १ विकेट लिए ।

त्यसअघि ओमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४१ रनको योगफल तयार गरेको थियो । नेदरल्यान्ड्सका लागि विक्रमजित सिंह र म्याक्स ओ डाउडले अर्धशतक बनाएका थिए । ओपनर म्याक्सले ९५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६९ रन जोडे ।

पहिलो विकेटका लागि म्याक्सले अर्का ओपनर सिंहसँग मिलेर १ सय ४० रनको साझेदारी गरे । सिंहले ८७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६६ रन बनाएका थिए । नोह क्रोसले २० बलमा २४, कोलिन एकरमनले २५ बलमा २१ तथा बास डि लिडेले १८ रन जोडेका थिए ।

युएईका लागि जुनैद सिद्धिकीले ३ तथा अलि नासिरले २ विकेट लिए । ८ राष्ट्रको सहभागीता रहेको लिगमा जितसँगै नेदरल्यान्ड्स ११ खेलमा १४ अंकका साथ तेस्रो स्थानमा छ । युएई १२ खेलमा ४ अंकका साथ तालिकाको पुछारमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

२०२७ सम्म चल्ने लिगमा शीर्ष ४ देशले ओडिआई विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । बाँकी ४ देशले ग्लोबल छनोटमा स्थान बनाउन प्लेअफ खेल्नु पर्ने हुन्छ ।