काठमाडौँ । इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो । इङ्ग्ल्यान्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।
वेस्ट इन्डिजले दिएको १ सय ५९ रनको लक्ष्य पछाएको इङल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । टोलीका कप्तान जोस बटलरले ४५ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ८३ रन जोडे । विल ज्याक्सले २९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३८, लियम लिभिङस्टोनले ११ बलमा २३ तथा ज्याकोब बेथहेलले नट आउट ३ रन बनाए ।
इङ्ग्ल्याण्डका लागि अघिल्लो खेलमा शतक बनाएका फिल साल्ट भने इनिङको पहिलो बलमा नै आउट भएका थिए । वेस्ट इण्डिजका लागि रोमारिया शेफर्डले २ तथा अकिल होसेनले १ विकेट लिए ।
त्यसअघि बारबाडोसको किंग्सटन ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार गरेको थियो ।
वेस्ट इण्डिजका कप्तान रोभमन पावेलले ४१ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४३, रोमारियो शेफर्डले १२ बलमा २२, निकोलस पुरनले २३ बलमा १४ तथा म्याथ्यु फोर्ड र रोस्टन चेसले समान १३ रन बनाएका थिए ।
इङ्ग्ल्याण्डका डान मौस्ले, सकिब मोहम्मद र लियम लिभिङ्स्टोनले समान २ तथा जोफ्रा आर्चर र आदिल राशिदले समान १ विकेट लिए । दुई देश बीचको तेस्रो टि ट्वान्टी आई शुक्रवार रहेको छ ।

















