काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौता एक वर्षको लागि भएको हो भने रकम खुलाएका छैनन्।
ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त भएपछि हमालले आफ्नो विचार राख्दै भने, “लुम्बिनी लायन्ससँगको यस सहकार्यले मलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ । लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी छ । म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपालीे क्रिकेटको प्रवर्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु ।”
लुम्बिनीको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल छन् । यसैगरी टोलीले नन्दन फडनिसलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा लुम्बिनीसँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।
लुम्बिनी लायन्स टिम : रोहितकुमार पौडेल, आसुतोष घिरैया, सुर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिषेश गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री, टम मुर्स, बेन कटिङ र उन्मुक्त चन्द

















