फ्लड लाइट जडानबारे यस्तो भन्छन् क्यानका सचिव पारस खड्का

Image

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तीव्र रुपले अघि बढिरहेको जनाएको छ । एनपीएलका सन्भर्दमा सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलको सबै तयारी तीव्र रुपमा अघि बढिरहेको बताए ।

लिगलाई भव्य बनाउन क्यानले लामो समयदेखि तयारी गरेर अहिलेको अवस्थासँग आइपुग्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए । खड्काले फ्रेन्चाइज लिगका लागि चुनौतीका रुपमा रहेका पूर्वाधारको तयारी पनि अघि बढिरहेको धारणा राखे। खेल र खेलाडीको विकाससँगसँगै क्रिकेटमा आकर्षण बनाउन पनि लिग महत्वपूर्ण हुने उनले बताए ।

अब हुने पहिलो संस्करणमा फ्लड लाइटमा गर्न नसकेपछि दोश्रो संस्करण फ्लड लाइटमा गर्ने इच्छा रहेको उनले सुनाए ।
केपी शर्मा ओ‌ली नेतृत्वको सरकारले तीन महिनाभित्र फ्लड लाइट जडान थाल्ने बताए पनि अझैसम्म काम हुन सकेको छैन ।

सचिव खड्काले एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीको २४ घण्टा निगरानी हुने जानकारी दिए । लिग अवधि भर एन्टिकरप्शन टीम सक्रिय रहने उनको भनाइ छ ।

एनपीएल खेल संस्कार बसाउने प्रयास हो

नेपाल प्रिमियर लिग (एनपीएल) खेल मात्र नभएर एउटा खेल संस्कार बसाउने प्रयास पनि रहेको खड्काले बताए। ‘अहिले हामीले गर्न लागेको लिग प्रतियोगिता मात्र नभएर देशमै खेल संस्कार बसाल्नुपर्छ भन्ने सोचर अघिबढेका छौँ ।‘ एनपीएल गभर्निङ काउन्सिको संयोजक समेत रहेका खड्काले भने ।

गभर्निङ काउन्सिलमा क्यान कोषाध्यक्ष पदम बहादुर खड्का र क्यान सदस्य सुदिप शर्मा सदस्य छन् । पहिलेको प्रेन्चाइज लिगहरु आयोजना हुने त्यसपछि सकिने गरेको भन्दै पारसले यसपटक फ्रेन्चाइज लिग मार्फत दिर्घकालिन रुपमा सबैलाई समेट्ने गरी अघि बड्ने योजना रहेको बताए ।

‘अहिले जुन नामहरु आएका छन् । कर्णाली याक्स, काठमाडौंगुर्खाज, विराटनगर किंग्स देखि सुदूरपश्चिम रोएल्ससम्म छन् । भविष्यमा हाम्रो चाहना के हो भने पहिले लिग हुनुथ्यो । एउटाले जित्थ्यो । हार्थ्यो । दर्शक आउँथ्यो । म्याच सकिन्थ्यो,’ उनले भने, ‘अहिले हामीले के गरेका छौँ भने क्यान अन्तर्गत रहेको जिल्ला र प्रदेशलाई संघसँग त्यो ठाउँको फ्रेन्चाइजलाई जोड्ने प्रयास गरेका छौँ । एनपीएलमा आबद्ध सम्पूर्ण फ्रेन्चाइजलाई आ-आफ्नो एकेडेमी स्थापना गर्ने अधिकार पनि छ ।’

एनपीएल सुरु नहुँदै यसमा ५० करोड भन्दा माथि लगानी देखिसकेको छ भने यसमा अझ बढ्न सक्ने छ । यस्तोमा हरेक फ्रेन्चाइजले ५ करोड भन्दा बढीको खर्च गर्दैछ ।
उनले भने,’ हरेक फ्रेन्चाइजले ५ करोड भन्दा बढीको खर्च गर्दैछ । तर त्यसको प्रतिफल तत्काल आउदैन । यसलाई दिगो रुपमा अघि बढाउने र ३-४ वर्षपछि मात्र फ्रेन्चाइजलाई आर्थिक लाभ हुँदैन भनेर भनेका छौँ ।’

क्यानले पहिलो पटक यति ठूलो लगानी र धेरै टिम समावेश गरेर फ्रेन्चाइज लिग गर्न लागेको हो । मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।