काठमाडौं । नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो ।
विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै ४२ बलमा सर्वाधिक ३५ रन बनाइन् । त्यस्तै कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रनको योगदान दिइन् ।ओपनर साबित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रीनले १९ बलमा नट आउट १३ रन जोडिन् ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।
यूएईका लागि कप्तान समाइरा धर्निधरकाले ४८ बलमा सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रन्जितले १८ बलमा २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।
नेपालले अब आगामी वर्ष १८ जनवरी देखि २ फेब्रुवरी सम्म मलेसियामा हुने आइसिसी यु-१९ महिला टी२० विश्वकप खेल्ने छ । नेपाल विश्व कपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ ।

















