काठमाडौं । विश्वकपमा छनोट इतिहास रच्न सफल नेपाली यू–१९ महिला टोलीका सदस्यहरुलाई नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् ।
ऐतिहासिक उपलब्धीको सम्मान स्वरुप एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार र अफिसियलहरुलाई जनही १ लाख ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो।
यसअघि बुधबार युएईमा सकिएको एसिया छनोटमा घरेलु टोलीलाई पछि पार्दै नेपाली टोली विश्वकपमा पुगेको थियो। नेपालले आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा प्रतिस्पर्धा गर्नेछ।
समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्।
विश्वकपमा छनोट भएसँगै नेपाली यू-१९ टोलीले एसिया कप समेत खेल्ने भएको छ। विश्वकपमअघि हुने एसिया कप मलेसियामै हुनेछ। मलेसियामा यू-१९ एसिया कप १५ देखि २२ डिसेम्बरसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह ‘बी’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका समेत पक्का भइसकेको छ।
यू-१९ महिला एसिया कप एसिसीले पहिलो पटक सञ्चालन गर्न लागेको हो। प्रतियोगितामा समूह ‘बी’ मा नेपाल, भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दा समूह ‘ए’ मा श्रीलंका, मलेसिया र बंगलादेशले भिड्नेछन्।
विश्वकपअघि एसिया कपमा प्रतिस्पर्धा गर्दा नेपाली टोलीलाई राम्रो अनुभव हुनेछ। अझ मलेसियामै एसिया कप हुँदा नेपाललाई मैदानको समेत ज्ञान हुँदा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग मिल्नेछ।

















