रोनाल्डोको उत्कृष्ट गोलसँगै पोर्चुगल क्वाटरफाइनलमा

Image

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको २ गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहँदै क्वाटरफाइनल पुगेको पोर्चुगलले शुक्रवार पोल्यान्डलाई ५-१ ले हरायो ।

मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोबाहेक राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे । पोर्चुगल लिग ए को समूह १ मा ५ खेलमा १३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । ५९औं मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ७२औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

८०औं मिनेटमा पोर्चुगलले अग्रता ३-० मा पुर्यायो । पोर्चुगलका फर्नान्डेजले टोलीको लागि तेस्रो गोल गरे । ८३औं मिनेटमा रोनाल्डोको पासमा पेड्रोले गोल गरे । ८७औं मिनेटमा रोनाल्डाले व्यक्तिगत दोस्रो गोल गरे ।

८८औं मिनेटमा पोल्यान्डका डोमिनिक मार्कजुकले सान्त्वना गोल फर्काए । लिग ए समूह १ को अर्को खेलमा स्कटल्यान्डले क्रोएसियालाई १-० ले पराजित गर्‍यो ।

लिग ए समूह मा युरोपियन च्याम्पियन स्पेनले डेनमार्कलाई २-१ ले हरायो । स्विटजरल्यान्ड र सर्बियाले १-१ को बराबरी खेले । स्पेन यसअघि नै यस समूहबबाट क्वाटरफाइनल पुगिसकेको छ ।