स्पेन समूहको शीर्ष स्थानमा पक्का

Image

एजेन्सी । डेनमार्कलाई हराउँदै स्पेनले यूईफए नेसन्स लिगको समूह ए४को शीर्ष स्थान पक्का गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेन २–१ गोलले विजयी बनेको हो ।

युरोपियन च्याम्पियन टोली यसअघि नै क्वार्टरफाइनलका लागि छनोट भने भइसकेको थियो । खेलको १५ औँ मिनेटमा मिकेल ओयार्जाबालले आयोजे पेरेजको पासमा टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफमा पेरेज आफैले टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर गुस्ताभ इसाकसेनले डेनमार्कका लागि एक गोल फर्काए । तर, त्यसपछि भने कुनै गोल हुन सकेन ।

पराजयपछि डेनमार्कले अर्को चरणमा पुग्न थप मेहनत गर्नुपर्ने भएको छ । टोली दोस्रो स्थानमा कायम रहे पनि सोमबार सर्बियाविरुद्ध टोलीले निर्णायक खेल्नुपर्नेछ ।