पञ्जाबले कीर्तिमानी मूल्यमा किन्यो श्रेयष ऐयरलाई, बटलर गुजरातमा

Image

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा श्रेयष ऐयर कीर्तिमानी मूल्यमा बिक्री भएका छन् । आइतबार जारी मेगा अक्सनमा श्रेयष ऐयरलाई पञ्जाब किङ्सले कीर्तिमानी मूल्यमा खरिद गरेको हो ।

श्रेयष ऐयरका लागि पञ्जाब किङ्सले २६ करोड ७५ लाख भारतीय रुपैयाँ खर्चियो । योसँगै श्रेयष ऐयर आईपीएलको इतिहासमै सबैभन्दा बढी रकममा बिक्री हुने खेलाडी पनि बनेका छन् । अक्सनमा उनको न्युनतम मूल्य दुई करोड भारतीय रुपैयाँ रहेको थियो ।

श्रेयष ऐयरकै कप्तानीमा कोलकाता नाइट राइडर्सले अघिल्लो सिजनको आईपीएलको उपाधि चुमेको थियो । तर, यो सिजन कोलकाताले उनलाई रिलिज गरेको थियो । मेगा अक्सनमा कोलकातासँगै अन्य क्लबले पनि उनमाथि बोली लगाएको थियो ।

यसैगरी, इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जस बट्लरले आगामी सिजनको आईपीएल गुजरात टाइटन्सबाट खेल्ने भएका छन् । उनलाई मेगा अक्सनमा गुजरात टाइटन्सले १५ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।