देवको उत्कृष्ट अर्धशतकमा कर्णालीले काठमाडौंलाई हरायो

Image

काठमाडौं । ओपनर देव खनालको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपिएल) को टोली कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई अभ्यास खेलमा पराजित गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा भएको अभ्यास खेलमा कर्णालीले काठमाडाैंमाथि ३४ रनको जित दर्ता गरेको हो ।

कर्णालीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १६.५ ओभरमा अल आउट हुदै १ सय २४ रन मात्र बनाउन सक्यो ।काठमाडौंका लागि साहब आलम र राजु रिजालले सर्वाधिक समान २४ रन बनाउँदा ओपनर शंकर रानाले १९ रन जोडे । राशिद खानले १६ तथा प्रतिक श्रेष्ठले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि गुलशन झा, मौषम ढकाल, विपिन शर्मा, दिपेन्द्र रावत र भुवन कार्कीले समान २ विकेट लिए । त्यसअघि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

कर्णालीका लागि ओपनर देवले ४४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० तथा अर्का ओपनर रित गौतमले २१ बलमा २६ रन जोडेका थिए । अर्जुन घर्तीले २३ रन जोड्दा दिपक डुम्रे २२ रनमा नट आउट रहे ।

काठमाडौंका लागि राशिद खान, कृष्ण कार्की, दिपेश कडेंल र भीम सार्कीले समान १ विकेट लिए । पहिलो संस्करणको एनपिएल आगामी शनिवारबाट सुरु हुदैछ । काठमाडौं र कर्णालीबीचको खेल भने मंसिर १९ गते बुधबार रहेको छ ।