जनकपुर बोल्ट्सलाई लाग्यो धक्का, सोएब ‘अनफिट’ हुँदा उनको स्थानमा बेन माइक खेल्ने

Image

काठमाडौं । आगामी मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएल टिम जनकपुर बोल्ट्सलाई प्रतियोगिताअघि धक्का लागेको छ ।जनकपुरमा अनुबन्धित भएका पाकिस्तानका अनुभवी खेलाडी मकसुदले फिटनेशमा समस्या भएकाले प्रतियोगिता खेल्न नआउने भएको जनकपुर टिम व्यवस्थापनले जनाएको छ ।

उनको स्थानमा टिमले अर्को खेलाडी भित्र्याएको छ । अब उनको प्रतिस्थापनमा टिमले इंग्ल्याण्डका अलराउण्डर बेन माइकलाई अनुबन्ध गरेको छ ।

पाकिस्तानका अनुभवी खेलाडी मकसुदले सबैखाले टि २०मा उनले १७० खेलमा ३९०० भन्दा धेरै रन बनाएका छन् । उनले टी २०मा १३० माथिको स्ट्राइक रेटमा खेल्छन् । अब उनको स्थानमा बलिङ अलराउण्डर माइकले खेल्ने छन् । माइकले सबैखाले टी २०मा ६७ खेल खेल्दा ५७ विकेट लिएका छन् भने ६०० भन्दा बढी रन पनि बनाएका छन् ।

जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन, अर्का अमेरिकी क्रिकेटर लाहिरु मिलन्था र पाकिस्तानका अलराउन्डर सोयब मक्सुदलाई अनुबन्ध गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटनको दिन नै जनकपुरले विराटनगर किङ्सको सामना गर्नेछ ।

जनकपुर बोल्ट्सको टोली : आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था, सोयब मक्सद र बेन माइक।