काठमाडौं । सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न न्युजिल्यान्डका स्कट कुगेलेइन नेपाल आइपुगेका छन्। कुगेलेइन बुधबार नेपाल आइपुगेका हुन् । कुगेलेइनलाई टोलीका व्यवस्थापक रवी तिमल्सिनाले विमानस्थलमा स्वागत गरेका थिए ।
न्युजिल्यान्डका लागि टेस्ट, ओडीआई र टी२०आई तीनै फर्म्याटमा खेल्नुभएका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए । उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ ।
तीव्र गतिको बलिङ गर्ने उनीसँग तल्लोक्रममा ठूला सट खेल्ने क्षमता छ । स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उनले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन्।
टी२० क्रिकेटमा २६ को औसतले १ सय ६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १ सय ३४ को स्ट्राइक रेटले १ हजार २२ रन उनको नाममा छ । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उनले २७ को औसतमा रन जोड्दै ४ शतक र १८ अर्धशतक प्रहार गरेका छन्।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो ।
सुदूरपश्चिममा न्युजिल्यान्डका स्कट कुगेलेइन अलावा इङ्ग्ल्यान्डका सेफ अलि जेब, स्कटल्यान्डका ब्रान्डन मक्मलेन र युएईका रोहन मुस्तफा विदेशी खेलाडीहरु टोलीमा समावेश गरेको छन् । सेफ पनि बुधवार नै नेपाल आइपुगि सकेका छन् ।
सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।
त्यस्तै नेपाली खेलाडीहरुमा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा रहेर एसिया कपको तयारीमा छन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा शनिवार देखि पुस ६ गतेसम्म एनपिएलको पहिलो संस्करण हुँदैछ । मंसिर १८ गते विराटनगर किङ्ससँग खेल्दै सुदूरपश्चिमले लिगको सुरुवात गर्नेछ ।
सुदूरपश्चिम रोयल्सको खेलतालिका
मंसिर १८ गते- विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २० गते- काठमाडौं गुर्खाजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २२ गते- लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २३ गते- चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २६ गते- जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर ३० गते- पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
पुस १ गते- कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे

















