जनकपुर बोल्ट्सले अनिल साहलाई बनायो कप्तान, बन्यो एक्लो यस्तो टोली

Image

काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले अनिल साहलाई कप्तान बनाएको छ।  भोलिदेखि सुरु हुने लिगमा ८ टोली रहेका छन्। तीमध्ये ७ टोलीमा मार्की खेलाडीलाई नै कप्तान बनाउँदा जनकपुरले भने साहलाई कप्तानी सुम्पिएको हो।

एनपिएल सुरु हुने अघिल्लो दिन शुक्रवार आयोजित कप्तानसँगको अन्तक्रिया कार्यक्रममा जनकपुरका तर्फबाट अनिल शाह कप्तानको रुपमा प्रस्तुत भए, र मार्की बाहेकलाई कप्तान बनाउने जनकपुर एक्लो टोली बनेको छ ।  जनकपुर बोल्ट्सको कप्तानमा अनिल शाह नियुक्त भएका छन् भने अन्य टिमले मार्की खेलाडीहरुलाई नै कप्तान बनाएका छन् ।

जस अनुसार विराटनगर किंग्सको कप्तान सन्दीप लामिछाने, चितवन राइनोजको कप्तान कुशल मल्ल, काठमाडु गुर्खाजको कप्तान करण केसी, पोखरा एभेन्जर्सको कप्तान कुशल भुर्तेल, लुम्बिनी लायन्सको कप्तानमा रोहित पौडेल,‌ कर्णाली याक्सको कप्तानमा सोमपाल कामी र सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको अनिलले बताए । ‘मलाई स्थानिय खेलाडीको जानकारी धेरै हुने भएकोले टिमले मलाई जिम्मेवारी दिएको होला । आसिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिईएको हो,’ अनिलले भने ‘टिमले ममाथि विश्वासका साथ यो जिम्मेवारी दिएको छ । यसलाई सफलताका साथ पूरा गर्ने मेरो प्रयास हुनेछ ।’

नेपाली खेलाडीको लागि भएको अक्सनमा आठै टोलीले अधिकतम १५ लाख मुल्य लगाउने अनिल एक मात्र खेलाडी थिए । गोला प्रथामा उनी जनकपुरमा परेका थिए । जनकपुरले शनिवार उद्घाटन खेलमा विराटनगर किंग्ससँग खेल्दैछ ।