काठमाडौं । लगातार दोस्रो पराजय ब्यहोर्दै नेपाल एसिसी यु-१९ एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।
युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा आइतबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भयो ।
नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
बंगलादेशका लागि जवाज अबरारले ६५ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे ।
यसैगरी कप्तान अजिजउल हाकिम तमिमले ७० बलमा तीन छक्का र दुई चौकाको मद्दतले ५१ र मोहम्मद फरिद हसन फैसलले १३ रन बनाए ।
नेपालका लागि युवराज खत्रीले चार र कप्तान हेमन्त धामीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल तयार पार्यो ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै विकेटकिपर ब्याटर उत्तम थापामगर र अभिषेक तिवारीले समान २९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाललाई सामान्य योगफलमा रोक्न बंगलादेशका अल फहाद, मोहम्मद इकबाल हसन इमोन र रिजन हुसेनले समान दुई विकेट लिए । यसैगरी साद इस्लाम रजिन, मोहम्मद रफी उज्जामान र मोहम्मद अजिजुल हाकिम तमिमको नाममा एक–एक विकेट रह्यो ।
पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ५५ रनको हार ब्यहोरेको थियो । एसिया कपमा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ।
क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ ।
एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
सहभागीटोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।
















