काठमाडौं । ओपनर तथा कप्तान अनिल कुमार शाहको उत्कृष्ट अर्धशतकमा नेपाल प्रिमियर लिगमा जनकपुरले सानदार जित निकालेको छ ।सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।
प्रतियोगितामा जनकपुरको यो लगातार दोस्रो जित हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो ।
कर्णालीले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि ओपनर तथा कप्तान अनिल शाहले सर्वाधिक ६२ रन बनाए । उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । उनले ३५ बलमा ६ चौका र २ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका थिए । अनिलको यो अर्धशतक प्रतियोगितामा नेपाली ब्याटरले बनाएको पहिलो अर्धशतक हो ।
अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।
दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए ।
जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको थियो। जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो। यसअघि जनकपुरले विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य भेट्टाएको थियो।
सातौँ विकेटका लागि अर्जुन घर्ति र सोमपाल कामीले ५६ रनको साझेदारी गरेपछि कर्णालीले बलियो योगफल तयार पारेको थियो। अर्जुनले १९ औँ ओभरमा लगातार दुई छक्का र २ चौका प्रहार गरे। २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएका अर्जुन रनआउट भए। सोमपाल १३ बलमा २९ रनमा नटआउट रहे। नन्दन यादव शुन्य रनमा अविजित रहे।
अलराउण्डर गुल्सन झाले बनाएको ३६ रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। गुल्सनले २७ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट भए। १४ बलमा १४ रन बनाएका शिखर धवन पाचौँ ओभरको दोस्रो बलमा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए।
ओपनर देव खनाल १ रन बनाएर आउट भए। जनकपुरका ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा देवलाई बोल्ड आउट गरे। बाबर हायात १२ रन बनाउँदा क्याच आउट भए। जिसन मक्सुद शुन्य रनमा नै जेम्स निसमको बलमा एलबीडब्लु धरापमा परे। चाडविक वाल्टन १ रनमा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु आउट भए।
जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिए। किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान एक विकेट लिए। एनपीएलमा मंगलबार दुई खेल हुनेछन्।
















