काठमाडौं । एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई १२३ रनमा आउट गरेको छ । युएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ३५.४ ओभरमा १२३ रनमा अलआउट गरेको हो ।
अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गर्दा अरू ब्याटर सस्तैमा आउट भए। सन्तोष यादवको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यसअघि नेपालले उत्कृष्ट सुरूआत गरेको थियो । नेपालले अफगानिस्तानका दुवै ओपनरलाई शून्यमा आउट गरेको थियो ।
खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरे । अर्को ओभरमा अभिषेक तिवारीले अर्का अफगान ओपनर उजाइरुल्लाह निएजाइलाई पनि शून्यमै बोल्ड गरे। त्यसपछि पनि नेपाली बलरले उत्कृष्ट बलिङ गर्दा अफगानिस्तानको इनिङ्ग्स स्लो भएको थियो ।
युनिस विक्रम सिंह ठकुरी र सन्तोष यादवले अफगानिस्तानका मध्यक्रमका ब्याटरलाई खुलेर खेल्न दिएनन्। दुवैले तीन तीन विकेट लिए। युनिसले १० ओभरमा तीन मेडन राख्दा २४ रन खर्चिए। सन्तोषले ४.४ ओभरमा २२ रन दिए ।
कप्तान हेमन्त र अभिषेकले दुई दुई विकेट लिन सफल भए। हेमन्तले आठ ओभरमा एक मेडन राख्दा ३७ रन दिए। अभिषेकले ६ ओभरमा १७ रन खर्चिए । समूह ‘बी’ मा रहेका दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। दुवै टोलीले यसअघि श्रीलंका र बंगलादेशविरूद्ध हार ब्यहोरेका थिए ।
















