काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णालीले जारी प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डुसँग ३ विकेटले हारेको थियो। कर्णालीले पहिलो जित निकालेको दिन चितवन राइनोजले भने पहिलो हार व्यहोरेको छ।
चितवनले पहिलो खेलमा काठमाण्डु गुर्खाजलाई ५ विकेटले हराएको थियो। दोस्रो पोखरालाई ८७ रनले हराएको थियो। चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले १ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।
कर्णालीका लागि ओपनर शिखर धवनले सर्वाधिक ४६ रन जोडे । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । लगातार दोस्रो अर्धशतक बनाउन चुकेका धवन जान निकोल लफ्टी इटनको बलमाकट एण्ड बोल्ड भए ।
चाल्डिक वाल्टन रवि बोपाराको बलमा एलबिडब्लु भए । एलबिडब्लु आउट हुनु अघि उनले १९ बलमा ३ छक्काको सहयोगमा ३० रन जोडे । अर्का ओपनर देव खनालले ३४ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रनमा आउट भए ।
देव कुशल मल्लको बलमा एलबिडब्लु आउट भए । अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेकोमा कर्णालीका अर्जुन घर्तीले ६ तथा जिशान मक्सुदले ४ रन प्रहार गरेर कर्णालीलाई पहिलो जित दिलाए ।
चितवनका लागि रवि बोपारा, कुशल मल्ल र जान निकोल लफ्टी इटनले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै १३० रनको योगफल तयार पार्यो ।
बोपारले सर्वाधिक ५९ रन जोडे । उनले ४० बलमा ७ चौका र १ छक्काका प्रहार गरेका थिए । लिगमा लगातार दोस्रो अर्धशतक बोपाराले ३५ बलमा पूरा गरेका थिए ।
गत मंगलवार भएको पोखरा एभेन्जर्सविरुद्धको खेलमा पनि बोपाराले अर्धशतक बनाएका थिए । एनपिएलमा लगातार अर्धशतक बनाउँने बोपारा पहिलो खेलाडी हुन् ।
कप्तान कुशल मल्लले २७ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । विपिन रावलले १५ बलमा ११ रन जोडे । विपिन जिशान मक्सुदको बलमा बोल्ड आउट भए । १७औं ओभरमा युवा बलर विपिन शर्माले २ विकेट लिएसँगै कर्णाली खेलमा पुर्ण रुपमा हाबी भएको थियो ।
कर्णालीका लागि विपिन शर्माले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । जिशान मक्सुद र सोमपाल कामीको नाममा समान १ विकेट लिए । आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीचमा खेल हुदैछ ।
















