आजबाट काभा भलिबल च्याम्पियनसिप सुरु, यी दुई क्लबले प्रतिस्पर्धा गर्ने

Image

काठमाडौं । काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पहिलो संस्करण आजबाट सुरू हुँदै छ । पहिलो दिन नेपालका दुई क्लबले दुई विदेशी क्लबको प्रतिस्पर्धा गर्दै छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पहिलो खेल दिउँसो तीन बजेबाट सुरू हुनेछ । हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ ।

हेल्प नेपाल आठौं प्रधानमन्त्री कपको विजेताको रूपमा काभा क्लब भलिबल च्याम्पियनसिपमा सहभागी भएको हो । उसको टिममा तीन पाकिस्तानी खेलाडी छन् ।

आजै दिउँसो साढे पाँच बजे गण्डकी प्रदेश भलिबल संघले माल्दिभ्सको एच डीसीको सामना गर्नेछ । गण्डकी, प्रधानमन्त्री कपको उपविजेता टोली हो । गण्डकीमा तीन भारतीय खेलाडीको उपस्थिति छ । यो खेल पनि परिषद्को कभर्डहलमा नै हुनेछ ।