पावरप्लेमा लुम्बिनीविरुद्ध सुदूरपश्चिमको राम्रो सुरुवात

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्यसले पावरप्ले (सुरुआती ६ ओभर) मा कुनै पनि विकेट नगुमाइ ४७ रन बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिको निम्तो पाएको सुदूरपश्चिमका लागि सेफ जैब २९ र विनोद भण्डारी १६ रन बनाएर खेलिरहेका छन् । जैबलले २५ बलमा चार चौका र एक छक्का तथा विनोदले ११ बलमा दुई चौका प्रहार गरेका छन् ।

त्यसअघि कीर्तिपुरस्थिती टियु मैदानमा सुदूरपश्चिमविरुद्ध लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका थिए ।

यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ । लुम्बिनीले पहिलो खेलमा विराटनगरविरुद्ध दुई विकेट तथा दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो ।

यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । सुदूरपश्चिमविरुद्ध पनि जित निकाल्न नसके लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना न्युन हुनेछ ।

उता लगातार तेस्रो जित निकाल्न सके सुदूरपश्चिमलाई प्लेअफको बाटो सहज बन्नेछ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० तथा काठमाडौं गुर्खाजलाई ७३ रनले हरायो ।

दुवै टिमको खेल हेर्न मैदानमा दर्शक भरिभराउ छन् । आज शनिबार सार्वजनिक बिदाको दिन भएकाले बिहानैदेखि दर्शकहरूको बाक्लो उपस्थिति छ । टिकट पनि अघिल्लो दिन नै सोल्डआउट भइसकेको थियो ।

दुवै टोलीको प्लेइङ-११ :

लुम्बिनी लायन्स प्लेइङ ११ : अर्जुन कुमाल, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सूर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, दिनेश अधिकारी

सुदूरपश्चिम रोएल्स प्लेइङ ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, नरेश बुढाएर, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद