काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले रोमाञ्चक जित निकालेको छ । चेल्सीले टोटनहामलाई ४-३ गोलअन्तरले हराएको हो ।
२-० ले पछाडि परेको अवस्था उल्टाएर चेल्सीले टोटनहामलाई उसैको मैदानमा हराएको हो । चेल्सीको जितमा कोल पाल्मरले २ गोल गरे भने जाडन सान्चो र एन्जो फर्नान्डेजले एक-एक गोल गरे । टोटनहामका डोमिनिक सोलान्के, डेजान कुलुसेभ्स्की र सन ह्युङ् मिनले एक-एक गोल गरे ।
खेलको पाचौं मिनेटमा सोलान्के र ११औं मिनेटमा कुलुसेभ्स्कीले गोल गरेपछि सुरूवातदेखि नै घरेलु टोलीले अग्रता बनाएको थियो । १७औं मिनेटमा सान्चोले गोल फर्काएपछि पहिलो हाफमा टोटनहाम २-१ ले अगाडि थियो ।
दोस्रो हाफको ६१औं मिनेटमा पाल्मरले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ७३औं मिनेटमा एन्जोले गोल गरेपछि चेल्सीले खेलमा अग्रता बनायो । ८४औं मिनेटमा पाल्मरले दोस्रो गोल गर्दै चेल्सीलाई ४-२ ले अगाडि राखे । इन्जुरी समयमा सनले गोल गरेपनि टोटनहामले खेल गुमायो ।
जितसँगै १५ खेलमा ३१ अंक भएको चेल्सी अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको लिभरपुलको १४ खेलमा ३५ अंक छ । टोटनहाम १५ खेलमा २० अंकसित ११औं स्थानमा छ ।
















