नेपाल र श्रीलङ्काबीचकाे खेल रद्द

Image

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने क्रममा वर्षा भएपछि खेल रद्द भएको हो ।

खेल रद्द भएपछि दुबै टोलीले १/१ अंक बाँडेका छन्। टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तिमा १ विकेट लिएर १ रन खर्चिएको अवस्थामा भारी वर्षा सुरु भएको थियो ।

नेपाललाई अब फाइनल पुग्न बंगलादेशसंगको खेल महत्त्वपूर्ण हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।

नेपाल, भारत, श्रीलंका र बंगलादेशले सुपर फोरमा छन् । सुपर ४ मा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन् ।

फाइनल आइतवार हुनेछ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो । यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।