उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै, यी हुन् प्रभाव पार्न सक्ने खेलाडीहरू

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदैछ । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको यो बहुप्रतिक्षित फाइनल खेलपछि एनपीएलको पहिलो संस्करणको विजेताको टुङ्गो लाग्ने वाला छ ।

फाइनलमा आउनुपूर्व यी दुई टोली दुईपटक भिडिसकेका छन् । दुवै भेटमा सुदूरले सहज जित हात पारेको छ । सुदूरको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा हालसम्म बलियो देखिँदा जनकपुरलाई ब्याटिङमा केही चिन्ता हुनसक्छ । टप अर्डरबाट पछिल्ला खेलमा रन बनेको छैन ।

शनिबारको फाइनलमा दुवै टोलीले आफ्नो बेस्ट खेल प्रदर्शन गर्ने कप्तानहरूको भनाइ छ । यसबीचमा दुवै टोलीका लागि फाइनलमा प्रभाव पार्न सक्ने खेलाडी कोको छन् त ? आज चर्चा गरौं । सुदूरका लागि प्रभाव पार्न सक्ने चार महत्वपूर्ण खेलाडीहरूमा कप्तान दिपेन्द्रसिंह ऐरी, स्कट कुग्लेइन, विनोद भण्डारी र इशान पाण्डे रहेका छन् ।

दिपेन्द्रले हालसम्म टिमका लागि सबैभन्दा धेरै २१८ रन बनाएका छन् भने ८ विकेट पनि लिएका छन् । उनको अलराउण्ड प्रदर्शनले सुदूरलाई फाइनलमा ठुलो सहयोग पुग्नेछ । उनको कप्तानी प्रदर्शन फाइनलमा पनि आउन सक्नेछ ।

त्यसैगरी स्कट कुग्लेइनले ८ खेलमा १६ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनी पावरप्ले र डेथ ओभरमा शानदार फर्ममा देखिएका छन् । उनको ओभरले खेलको मोमेन्टम नै परिवर्तन गराउने क्षमता राख्छ ।

विनोद भण्डारीले एक अर्धशतकसहित १९४ रन बनाएका छन् । ओपनिङमा उनको भूमिका महत्वपूर्ण हुनेछ । उनले सेफ जैबसँग मिलेर राम्रो ओपनिङ साझेदारी गरेमा सुदूरलाई अर्ली एडभान्टेज हुनेछ ।

अर्का महत्वपूर्ण खेलाडीमा इशान पाण्डे छन् । उनले मिडल अर्डरमा बीचका खेलहरूमा खेल चलाउन सक्षम छन् । बाँयाहाते ब्याटर भएकाले दाँयाहाते जोडीसँग मिलेर स्ट्राइक रोटेट गर्दै बलरमा दबाब सिर्जना गर्न सक्छन् ।

यीबाहेक सेफ अली जैब पनि महत्वपूर्ण खेलाडी हुन् । उनले हालसम्म २०६ रन बनाउँदा ११ विकेट पनि लिएका छन् । विनोदसँग मिलेर राम्रो ओपनिङ गर्दा बलिङबाट पनि योगदान दिइरहेका छन् । यता जनकपुरका लागि महत्वपूर्ण खेलाडीहरूमा जिमी निशम, ललित राजवंशी, लाहिरु मिलान्था र किशोर महतो हुनेछन् ।

जिमी नीशम हालसम्म जनकपुरका पछिल्ला जितहरूमा नायक साबित भइरहेका छन् । उनी सबैभन्दा फर्ममा रहेका खेलाडी देखिएका छन् । उनले हालसम्म ८ खेलमा २४३ रन बनाउनुका साथै ६ विकेट पनि लिएका छन् ।

त्यस्तै ललितले ९ खेलमा १६ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने खेलाडीकी सूचीमा उनी सुदूरका स्कटसँगै शीर्षमा छन् । उनले किफायती बलिङ पनि गरेका छन् ।
लाहिरु मिलान्था पछिल्लो समयमा चलेका छेनन् । उनले ९ खेलमा २०६ रन बनाएका छन् जसमा एउटा ७५* को स्कोर पनि समावेश छ । उनको ब्याट चलेमा फाइनलमा जनकपुरलाई ठुलो प्लस पोइन्ट हुनेछ । जनकपुरले उपाधि जित्नका लागि टप अर्डरमा उनको ब्याट पनि चल्नुपर्ने हुन्छ ।

जनकपुरका मुख्य पेस बलर किशोरले ९ खेलमा ११ विकेट लिएका छन् । उनले पावरप्लेमा र डेथ ओभरमा गरेको बलिङले विपक्षी टिमलाई दबाबमा राख्न सक्छ । त्यसैगरी हर्श थाकर पनि प्रभाव पार्न सक्ने खेलाडीका रूपमा हुनेछन् । उनले ९ खेलमा १०८ रन बनाउँदा ११ विकेट लिएका छन् ।

दुई टिमको अवस्था र सम्भावित टोली

फाइनलअघि सुदूरपश्चिम प्राय उही टोलीलाई मैदान उतारेको छ । टिममा भएका ६ विदेशी खेलाडी नै खेलाएको सुदूरपश्चिमले नेपाली खेलाडी १२ मध्ये ९ जना मात्र प्रयोग गरेको छ । सुदूरपश्चिमले सुरुमा ३ विदेशी खेलाडी हुँदा चौथो विदेशीको सट्टा ट्यालेन्ट हन्टबाट आएका बसन्त खत्रीलाई पहिलो रोजाइमा खेलाएको थियो । यू१९ टोलीका उपकप्तान अर्जुन कुमाल, यू१९ राष्ट्रिय टिमका पूर्व सदस्य खडक बोहरा र घरेलु क्रिकेटमा सुदूरबाटै खेलेका भोजराज भाटलाई खेलाएको छैन । जसले गर्दा सुदुरपश्चिमले लगभग एउटै सेट जस्तो खेलाडीलाई प्रयोग गरेको छ ।

कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, अविनाश बोहराले अहिलेसम्म खेलेका सबै ८ खेल खेलेका छन् । यस्तै नरेन साउदले ८, बसन्त खत्रीले २ तथा अमित श्रेष्ठले १ खेल खेलेका छन् । सुदूरपश्चिमले पछिल्लो दुई खेलमा एउटै टिम खेलाएको छ । त्यसैले पनि फाइनलमा त्यही टोलीलाई निरन्तरता दिने सम्भावना छ ।

यू१९ एसिया कपका कारण पहिलो खेल गुमाएका युवा स्पीनर नरेन साउदले त्यसयता सबै खेल खेलेका छन् । कर्णाली विरुद्ध लिग चरणको अन्तिम खेलमा घाइते हुँदा बलिङ नगरेपनि उनले क्वालिफायर वान खेलेका थिए । सुदूरपश्चिमका तीन विदेशी खेलाडी स्कट कुगेलेइन, ब्राण्डन म्याकमुलेन र सैफ अली जैबले सबै ८ खेल खेलेका छन् । लिगको बीचमा आएका दिलप्रित बाजवाले १ खेल खेले भने त्यसपछि आएका हरमित सिंहले पनि ४ खेल खेलिसकेका छन् ।

सुदूरपश्चिमको सम्भावित ११ : विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, हर्मित सिंह, स्कट कुगेलेइन, नरेन साउद, अविनाश बोहरा

यता जनकपुरले भने ट्यालेन्ट हन्टबाट आएका विशाल सुस्लिङ बाहेक ११ जनै नेपाली खेलाडी र ६ विदेशी खेलाडीलाई नै मैदान उतारिसकेको छ । अक्सनबाट अनुबन्ध भएका रुपेश सिंहले चोटका कारण खेल्न नपाएपछि उनको स्थानमा टिममा समावेश भएका मयन यादवले पनि १ खेल खेलिसके ।

कप्तान अनिल साहले चोटका कारण पछिल्लो दुई खेल खेलेनन् । मार्की खेलाडी आसिफ शेखसहित, किशोर महतो, ललित राजवंशी र शुभ कंसाकारले मात्र सबै ९ खेल खेलेका छन् । जनकपुरले पहिलो रोजाईमा धेरै खेलाडी परिवर्तन गर्दै आएको छ । अनिल साहले लिग चरणमा सबै ७ खेल खेले । यसैगरी शेर मल्लले ७, तुल बहादुर थापाले ३, हेमन्त धामी र आकाश त्रिपाठीले समान २ र मयन यादवले १ खेल खेलेका छन् ।

लिग चरणको अन्तिम खेलमा चितवन राइनोज विरुद्ध घाइते भएपछि नियमित कप्तान अनिल साहले बाँकी खेल गुमाएका थिए । उनको स्थानमा जनकपुरले यू१९ टिमका ओपनर आकाश त्रिपाठीलाई खेलाएको थियो । तर आकाशले आफ्नो ओपन गर्न भने पाएका छैनन् । यस्तै रुपेश सिंहको स्थानमा आएका मयन यादवले पनि क्वालिफायर टु मा पहिलो रोजाईँमा खेलेका थिए ।

यू१९ टिमका कप्तान मिडियम पेसर हेमन्त धामीले पनि धेरै खेल खेलेका छैनन् । शेर मल्ले क्वालिफायर टु मा जनकपुरलाई जिताउन विनिङ रन प्रहार गरेका थिए । सुरुवाती खेलहरुमा तुलबहादुर थापाले मौका पाएका थिए भने अलराउण्डर अरनिको यादवले पनि अवसर पाइरहेका छन् तर उनले अवसरलाई सदुपयोग गर्न सकेका छैनन् । टप अर्डरमा लाहिरु मिलान्थादेखि मिडल अर्डरमा विदेशी अलराउण्डरहरुमै जनकपुर निर्भर देखिएको छ ।

विशेषगरी पहिलो खेलपछि आएका जीमी नीशमले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यसैगरी अलराउण्डर हर्श थाकर र मोहम्मद मोहसिनले पनि बलिङ र ब्याटिङमा योगदान दिइरहेका छन् । लाहिरु मिलान्था विकेटकिपङ र टप अर्डरमा ब्याटिङ गरिरहेका छन् । यस बाहेक बेन माइक र जोसुअ ट्रोम्पले समान १ खेल खेलेका छन् ।

सुरुवाती चार खेल लगातार जित्दा राम्रो देखिएको जनकपुर टिम पछिल्लो खेलहरुमा भने एकरुपको प्रदर्शन गर्न चुकेको छ । फाइनलमा पनि जनकपुरले पहिलो रोजाइमा केही परिवर्तन गर्न सक्छ ।

जनकपुरको सम्भावित ११ : आसिफ शेख, आकाश त्रिपाठी, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिमी नीशम, मोहम्मद मोहसिन, मयन यादव, शेर मल्ल, किशोर महतो, ललित राजवंशी