सुदूरपश्चिम भर्सेस जनकपुर : यस्तो छ दुवै टोलिको सम्भावित प्लेईङ-११

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्। सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन्।

एनपीएलको सुरुवातमा दुवै टोलीले लगातार समान चार खेलमा विजयी भएपछि नै सुदूरपश्चिम र जनकपुरलाई उपाधि दाबेदारका रुपमा हेरिएको थियो। अन्ततः यी दुई टोली नै उपाधिका लागि भिड्ने भएका छन्। एनपीएलको लिग चरणदेखि क्वालिफायरसम्म ३१ खेल सम्पन्न भइसकेका छन्। ३२ औँ खेलमा आएर एनपीएलको उपाधि छिनोफानो हुँदैछ।

सुदूरपश्चिमले लिगचरणमा एक मात्रै पराजय व्यहोरेको थियो भने जनकपुर दुई खेलमा पराजित भएको थियो। सुदूरपश्चिम अहिलेसम्म एक खेलमा मात्रै पराजित छ। तर जनकपुर लिगचरणमा दुई र क्वालिफायरमा एक गरी तीन खेलमा पराजित भएको छ। दुवै टोली चितवनसँग पराजित भएका थिए। जनकपुरले बाँकी दुई खेल सुदूरपश्चिमसँगै हारेको छ।

पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको सुदूरपश्चिमले दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गर्यो। लुम्बिनीलाई ४५ रनले पराजित गरेपनि चितवनसँग भने भौथो खेलमा ३३ रनले पराजित भएको थियो।

सुदूरपश्चिमको अहिलेसम्मिको एकमात्रै हार यही हो। जनकपुरलाई ७२ रनले हराएपछि पोखरालाई ५ विकेटले पराजित गर्यो। अन्तिम खेलमा कर्णालीलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको थियो। क्वालिफायरमा पनि जनकपुरमाथि समूह चरणकै नतिजा दोहो¥याउँदै फाइनलसम्मको सहज यात्रा तय गरेको छ।

जनकपुरले पनि उद्घाटन खेलमा विराटनगरलाई नै ८ विकेटले पराजित गरेको थियो। त्यसपछि लगातार तीन खेलमा विजयी भयो। कर्णालीलाई पनि ८ विकेटले नै पराजित गरेको जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको थियो।

लुम्बिनीसँग १ रनको रोमाञ्चक जित हात पारे पनि पाँचौँ खेलमा सुदूरपश्चिमले जनकपुरको अपराजित यात्रा तोडेको थियो। सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो। त्यसपछि काठमान्डुलाई ५ विकेटले पराजित गर्दै जनकपुरले सबैभन्दा पहिले प्लेअफमा स्थान सुरक्षित गरेको थियो। तर अन्तिम खेलमा चितवन राइनोजसँग ३२ रनले पराजित भयो।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै ८ विकेटले पराजित भएको जनकपुर दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

उपाधिका लागि भिड्नु अघिल्लो दिन दुबै टोलीका कप्तानले पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने योजनामा रहेका बताए। सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदान उत्रदैछ। जनकपुरको कप्तानी आसिफ शेखले र सुदूरपश्चिमको कप्तानी दिपेन्द्रसिंह ऐरिले सम्हाल्नेछन्। तर जनकपुरका कप्तान आसिफका दाजु आरिफ सुदूरपश्चिमबाट खेल्नेछन्।

यसअघि जनकपुरलाई दुई पटक पराजित गरिसकेका सुदूरपश्चिमका कप्तान दिपेन्द्रले अगाडीको खेलमा हराएको भनेर सजिलो रुपमा नलिएको बताएका छन्। जनकपुर पनि बलियो टोली भएकाले लिग चरणकै जस्तो खेल्ने बताए। ‘फाइनल खेलमा पनि लिग चरणको जस्तै रणनीति अपनाएर खेल्नेछौँ। फाइनलका लागि राम्रो तयारी गरिरहेका छौँ, जित, हार आफ्नो ठाउँमा छ, आफ्नो शतप्रतिशत दिएर खेल्छौँ’, दिपेन्द्रले भने।

जनकपुरले कप्तानको जिम्मेवारी अनिल साहलाई दिएपनि फाइनलमा भने आसिफले नै सम्हाल्नेछन्। अनिल चोटका कारण आजको टोलीमा हुनेछैनन्। हातमा चोट बोकेपछि मार्की खेलाडी आसिफले जिम्मेवारी सम्हालिरहेका छन्। आसिफले नतिजाबारे धेरै नसोचेको र मैदानमा राम्रो खेल्ने बताए। ‘शनिबार राम्रो क्रिकेट खेल्छौँ। नतिजाका बारेमा धेरै सोचेका छैनौँ। हामीसँग जे जति छ, त्यो मैदानमा दिन्छौँ’, आसिफले भने।

शनिबारका लागि सबै टिकट विक्री भईसकेको छ। त्यसैले टिकट नभएका दर्शकलाई घरमा नै बसेर क्रिकेट हेर्न दुवै टोलीका कप्तानले आग्रह गरेका छन्। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पनि टिकट विक्रि भइसकेकाले टिकट नपाउनेलाई फाइनल खेल घरमै बसेर हेर्न आग्रह गरेका छन्। आगामी दिनमा स्टेडियमको क्षमता बढाउने पनि पारसले बताएका छन्।

एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। त्यसैगरी उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

दुई टिमको अवस्था र सम्भावित टोली

फाइनलअघि सुदूरपश्चिम प्राय उही टोलीलाई मैदान उतारेको छ । टिममा भएका ६ विदेशी खेलाडी नै खेलाएको सुदूरपश्चिमले नेपाली खेलाडी १२ मध्ये ९ जना मात्र प्रयोग गरेको छ । सुदूरपश्चिमले सुरुमा ३ विदेशी खेलाडी हुँदा चौथो विदेशीको सट्टा ट्यालेन्ट हन्टबाट आएका बसन्त खत्रीलाई पहिलो रोजाइमा खेलाएको थियो । यू१९ टोलीका उपकप्तान अर्जुन कुमाल, यू१९ राष्ट्रिय टिमका पूर्व सदस्य खडक बोहरा र घरेलु क्रिकेटमा सुदूरबाटै खेलेका भोजराज भाटलाई खेलाएको छैन । जसले गर्दा सुदुरपश्चिमले लगभग एउटै सेट जस्तो खेलाडीलाई प्रयोग गरेको छ ।

कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, अविनाश बोहराले अहिलेसम्म खेलेका सबै ८ खेल खेलेका छन् । यस्तै नरेन साउदले ८, बसन्त खत्रीले २ तथा अमित श्रेष्ठले १ खेल खेलेका छन् । सुदूरपश्चिमले पछिल्लो दुई खेलमा एउटै टिम खेलाएको छ । त्यसैले पनि फाइनलमा त्यही टोलीलाई निरन्तरता दिने सम्भावना छ ।

यू१९ एसिया कपका कारण पहिलो खेल गुमाएका युवा स्पीनर नरेन साउदले त्यसयता सबै खेल खेलेका छन् । कर्णाली विरुद्ध लिग चरणको अन्तिम खेलमा घाइते हुँदा बलिङ नगरेपनि उनले क्वालिफायर वान खेलेका थिए । सुदूरपश्चिमका तीन विदेशी खेलाडी स्कट कुगेलेइन, ब्राण्डन म्याकमुलेन र सैफ अली जैबले सबै ८ खेल खेलेका छन् । लिगको बीचमा आएका दिलप्रित बाजवाले १ खेल खेले भने त्यसपछि आएका हरमित सिंहले पनि ४ खेल खेलिसकेका छन् ।

सुदूरपश्चिमको सम्भावित ११ : विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, हर्मित सिंह, स्कट कुगेलेइन, नरेन साउद, अविनाश बोहरा

यता जनकपुरले भने ट्यालेन्ट हन्टबाट आएका विशाल सुस्लिङ बाहेक ११ जनै नेपाली खेलाडी र ६ विदेशी खेलाडीलाई नै मैदान उतारिसकेको छ । अक्सनबाट अनुबन्ध भएका रुपेश सिंहले चोटका कारण खेल्न नपाएपछि उनको स्थानमा टिममा समावेश भएका मयन यादवले पनि १ खेल खेलिसके ।

कप्तान अनिल साहले चोटका कारण पछिल्लो दुई खेल खेलेनन् । मार्की खेलाडी आसिफ शेखसहित, किशोर महतो, ललित राजवंशी र शुभ कंसाकारले मात्र सबै ९ खेल खेलेका छन् । जनकपुरले पहिलो रोजाईमा धेरै खेलाडी परिवर्तन गर्दै आएको छ । अनिल साहले लिग चरणमा सबै ७ खेल खेले । यसैगरी शेर मल्लले ७, तुल बहादुर थापाले ३, हेमन्त धामी र आकाश त्रिपाठीले समान २ र मयन यादवले १ खेल खेलेका छन् ।

लिग चरणको अन्तिम खेलमा चितवन राइनोज विरुद्ध घाइते भएपछि नियमित कप्तान अनिल साहले बाँकी खेल गुमाएका थिए । उनको स्थानमा जनकपुरले यू१९ टिमका ओपनर आकाश त्रिपाठीलाई खेलाएको थियो । तर आकाशले आफ्नो ओपन गर्न भने पाएका छैनन् । यस्तै रुपेश सिंहको स्थानमा आएका मयन यादवले पनि क्वालिफायर टु मा पहिलो रोजाईँमा खेलेका थिए ।

यू१९ टिमका कप्तान मिडियम पेसर हेमन्त धामीले पनि धेरै खेल खेलेका छैनन् । शेर मल्ले क्वालिफायर टु मा जनकपुरलाई जिताउन विनिङ रन प्रहार गरेका थिए । सुरुवाती खेलहरुमा तुलबहादुर थापाले मौका पाएका थिए भने अलराउण्डर अरनिको यादवले पनि अवसर पाइरहेका छन् तर उनले अवसरलाई सदुपयोग गर्न सकेका छैनन् । टप अर्डरमा लाहिरु मिलान्थादेखि मिडल अर्डरमा विदेशी अलराउण्डरहरुमै जनकपुर निर्भर देखिएको छ ।

विशेषगरी पहिलो खेलपछि आएका जीमी नीशमले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यसैगरी अलराउण्डर हर्श थाकर र मोहम्मद मोहसिनले पनि बलिङ र ब्याटिङमा योगदान दिइरहेका छन् । लाहिरु मिलान्था विकेटकिपङ र टप अर्डरमा ब्याटिङ गरिरहेका छन् । यस बाहेक बेन माइक र जोसुअ ट्रोम्पले समान १ खेल खेलेका छन् ।

सुरुवाती चार खेल लगातार जित्दा राम्रो देखिएको जनकपुर टिम पछिल्लो खेलहरुमा भने एकरुपको प्रदर्शन गर्न चुकेको छ । फाइनलमा पनि जनकपुरले पहिलो रोजाइमा केही परिवर्तन गर्न सक्छ ।

जनकपुरको सम्भावित ११ : आसिफ शेख, आकाश त्रिपाठी, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिमी नीशम, मोहम्मद मोहसिन, मयन यादव, शेर मल्ल, किशोर महतो, ललित राजवंशी