काठमाडौं । सरकारले दुई हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना गर्ने भएको छ । विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको हाे ।
बिहीबार काठमाडौंमा शिक्षा पत्रकार समूहले आयोजना गरेकोएक कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ३ वर्षभित्र देशभरका सबै विद्यालयहरुमा ‘आईसिटी ल्याब’ स्थापना गर्ने सरकारको योजना रहेको बताएकाछन ।
मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताए । उनले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिए ।
मन्त्री पौडेलले भने,’क्रमशः ३ वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरुमा त्यसलाई लागु गर्छाै । सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा व्यवस्था गर्ने कामलाई पनि सरकारले सुरु गरेको छ । तर त्यसका लागि सरोकारवाला निकायहरुले सक्दो सहयोग गर्नुपर्ने हुन्छ ।’
मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताए ।