Khabar Board

क्याम्प छोडेका १० खेलाडी, प्रशिक्षक र अहिलेको टिमबारे यस्तो भन्छन् कप्तान नवयुग

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठले पुराना खेलाडी टिममा भएको भए एएफसी एसियन कप छनोटमा केही फरक नतिजा आउने बताएका छन् । कुवेतमा आयोजना भएको एसियन कप छनोटमा सहभागिता जनाएर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान नवयुगले पुराना खेलाडी भएको भए टिमको प्रदर्शनमा फरक आउने बताएका हुन् ।

उनले भने, ‘टिममा नयाँ भाइहरू छन्, भइरहेको खेलाडीहरू एक्कासि नहुँदा टिममा केही फरक त परी नै हाल्छ । नयाँ भाइहरूले पनि राम्रो गरेको हो । तर, पुरानो खेलाडी भएको भए केही फरक हुन्थ्यो जस्तो लाग्छ,’ नवयुगले भने, ‘हामी कठिन ग्रुपमा थियौं । तर, प्रदर्शनको हिसाबमा केही फरक हुन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ ।’

उनले थपे, ‘टिममा प्राय: जस्तो नयाँ भाइहरू छ । नयाँ भाइहरूको प्रदर्शन चित्तबुझ्दो नै छ । तर, हामी छनोट हुन सकेनौं । नयाँ भाइहरूलाई सुरुमा खेल्दा अलि डराएको जस्तो, अफ्ठ्यारो होकि जस्तो भएको थियो । तर, लगातारको ट्रेनिङपछि टिम राम्रो बनेको जस्तो लाग्छ ।’

नवयुगले पछिल्लो विवादबारे आफूले केही नबोल्ने पनि बताए । उनले भने, ‘पछिल्लो विवादमा मलाई केही भन्नु छैन । तर, खेलाडीहरू होटल छाडेको विषयमा उनीहरू आफैँ चाहिँ गएको हाेइनन् । खेलाडीलाई प्रशिक्षकले होटल छाडेर जानु भन्ने कुरा चित्तबुझ्दो छैन ।’

नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडीबिना नेपालले छनोट खेलेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १३ वैशाखमा प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । किरण प्रशिक्षण छाडेका खेलाडीको समर्थन गर्दै टिममा सामेल भएनन् ।

नयाँ खेलाडीसहित कुवेत पुगेको नेपाल अंकविहीन बन्याे । समूह ए मा रहेको नेपाल समूहको पुछारमा समेत रह्यो । तर, कप्तान नवयुगले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । नवयुगले प्रशिक्षक आउने/नआउने कुरा एन्फाले जानकारी गराउने बताए । नेपाली टोली स्वदेश फर्किए पनि अलमुताइरी भने कुवेतमै बसेका छन् ।

एसियन कप छनोटको पहिलो खेलमा जोर्डनसँग २-० ले पराजित भएको नेपाल दोश्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो । तेश्रो तथा अन्तिम खेलमा नेपाल इण्डोनेसियाविरुद्ध ७-० ले पराजित भएको थियो । लगातार तेश्रो हारको सामना गरेको नेपालले समूह ए मा अंकविहिन रहँदै चौथो स्थानमा रहँदै एशियन कप छनोटको यात्रा टुङ्गयाएको थियो ।

यस समूहबाट तीनैवटा खेल जित्दै ९ अंकका साथ शीर्ष स्थानमा रहेको जोर्डन एशियन कपका लागि छनोट भएको छ । यस्तै, ३ खेलमा ६ अंक बटुलेको इण्डोनेसिया समूहको दोश्रो स्थानमा रह्यो भने ३ खेलमा ३ अंक रहेको आयोजक कुवेतले तेश्रो स्थान हासिल गर्‍यो।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.