Khabar Board

हेटौंडा उपमहानगरपालिकाको बजेट १६.७ प्रतिशतले घटाईयो

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २ अर्ब ४३ करोड ८९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

आइतबार बसेको १५ औं नगरसभामा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात प्रतिशतमा ल्याउदा १६ दशमलब ०७ प्रतिशत कम बजेट प्रस्ताव गरेका छन ।

राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुलता, संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण बजेटको आकार घटाइएको बानियाँले बताएका छन्। आगामी आर्थिक वर्षको अनुमानित खर्च सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ रहेको छ ।

उपमहानगरले हेटौंडा–१० मा निर्माण भैरहेको बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गर्न ६ करोड रुपैयाँ र सहरी सडक मर्मतका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड, खानेपानीको न्यून महसुल भुक्तानीका लागि २ करोड ८ लाख बजेट विनियोजन गरिएको छ भने उज्यालो शहर कार्यक्रम अन्तर्गत स्ट्रिट लाइट जडानको लागि ३० लाख बजेट विनियोजन गरेको बानिंयाले बताएका छन्।

मेयर मीनाकुमारी लामाले नगरसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.