धनगढी ।
सुदूरपश्चिम प्रदेश निजामती सेवा अन्तर्गत नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौ तह, प्राविधिक सहायक पदको लिखित परीक्षाको समय तालिका सार्वजनिक गरिएको छ। प्राविधिक सहयाकको लिखित परीक्षा आगामी भदौ २५ गते बिहान ११ बजेबाट हुने प्रदेश लोक सेवा आयोगले सूचनामा उल्लेख गरेको छ।
प्राविधिक सहायक पदका लागि ८ हजार बढीले आवेदन दिएको प्रदेश लोकसेवा आयोगका प्रवक्ता हिरालाल चौधरीले बताए। परीक्षा केन्द्र पछि तोक्ने गरी भदौ २५ गते ११ बजेबाट प्राविधिक सहायकको लिखित परीक्षा हुने सूचनामा उल्लेख छ।
यस्तै वन रक्षकको लिखित परीक्षा पनि भदौमा हुने
सुदूरपश्चिम प्रदेश निजामती सेवा अन्तर्गत नेपाल वन सेवा जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको लिखित परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। वन रक्षक पदको विज्ञापन नम्बर ५०१-५०७/०७८-७९ (खुला/समावेशी) पदमा दरखास्त दिएर प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षामा सहभागी भई सफल भएका उम्मेदवारले मात्रै दोस्रो चरणको लिखित परीक्षा दिन पाउने प्रदेश लोक सेवा आयोगले जनाएको छ।
वन रक्षकको लिखित परीक्षा आगामी भदौ ११ गते बिहान ११ बजेबाट हुने प्रदेश लोक सेवा आयोगले सूचनामा उल्लेख गरेको छ। वन रक्षकको लिखित परीक्षाका लागि ६ हजार ५९० जनाले प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षा पास गरेको प्रदेश लोकसेवा आयोगका प्रवक्ता हिरालाल चौधरीले बताए। ‘परीक्षा केन्द्र पछि तोक्ने गरी भदौ ११ गते ११ बजेबाट वन रक्षकको लिखित परीक्षा हुने निर्णय भएको छ,’ उनले भने, ‘परीक्षा केन्द्र अर्को सूचनामा तोकिने छ।’