काठमाडौं ।
संघीय शिक्षा ऐन र विश्वविद्यालयको वर्तमान अवस्थाका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच आज शनिबार (७ साउन) बिहान छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संघीय शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अड्किएको विषयमा शिक्षामन्त्री पौडेलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको शिक्षामन्त्रीका प्रेस संयोजक बिमल खड्काले जानकारी दिए ।
खड्काले मन्त्री पौडेल र प्रधानमन्त्री देउवाबीच विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दीलगायतको विषयमा पनि छलफल भएको बताए । संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्रीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको खड्काकाे भनाइ छ ।
छलफलमा प्रधानमन्त्री देउवाले शिक्षामन्त्री पौडेलसहित सरोकारवालालाई संघीय शिक्षा ऐनलाई अघि बढाउने सन्दर्भमा छलफलमा बोलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत २० फागुन २०७८ मा पनि शिक्षामन्त्री पौडेलले संघीय शिक्षा ऐन कै विषयमा केन्द्रित रहेर प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए ।