Khabar Board

जनता माविको वार्षिकोत्सव कार्यक्रमः ९५ वर्षीय महराले गरे ५१ हजार रुपैयाको अक्षयकोष स्थापना

बैतडी । बैतडीको पाटन नगरपालिका–८ स्थित जनता मावि आरुबाटामा ९५ वर्षीय दल बहादुर महराले ५१ हजार रुपैया बराबरको अक्षयकोष स्थापना गरेका छन् । पढाइमा उत्कृष्ट, गरीब, विपन्न, असहाय, तथा अनाथ बालबालिकाहरुलाई छात्रवृति प्रदान गर्नको लागि उनले विद्यालयको ४० औँ वार्षिकोत्सव समारोहकाबीच अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त रकमबाट आउने ब्याजरकमबाट वार्षीक रुपमा छात्रवृति प्रदान गरियोस भनि आफुले ५१ हजार रुपैया बराबरको अक्षयकोष स्थापना गरेको उनले बताए ।

जनता माविको ४० औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवान सिंह बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा रहनु भएको थियो ।

जिल्ला समन्वय समितिका सदस्य एवं सामुदायिक विद्यालय व्यवस्थापन महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम सिंह भाट, पाटन नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, पाटन नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँर, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट, वडा नं ३ का वडा अध्यक्ष करुणकार भट्ट, वडा नं ८ का वडा सदस्यहरु लगायत जनप्रतिनिधि, शिक्षक, आम अभिभावक लगायत विद्यार्थीहरुको उपस्थितिमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी जनता मावि स्थापना भएदेखि हालसम्म सहयोग गर्दै आइरहनु भएका अभिभावकहरुलाई प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.