काठमाडौं । शिक्षक सेवा आयोग निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । आयोगको भदौं २६ को निर्णयानुसार निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले भदौं ३१ गतेदेखि दरखास्त दिन सकिने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागजात (नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र) सहित आवेदन दिनुपर्ने छ ।
साथै आवेदनका लागि लाग्ने सिङ्गल दस्तुरका लागि २०८१ आसोज २९ गते रातको १२.०० बजेभित्र र दोबर दस्तुरका लागि कार्तिक ६ गते रातको १२.०० बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत दरखास्त पेश गर्नुपर्नेछ ।
म्यादभित्र दाखिला नभएको र रीतपूर्वक पेश नगरिएको दरखास्त उपर कुनै कारबाही नहुने र झुट्टा विवरण उल्लेख गरी अनलाइन दरखास्त फाराम भरेमा उम्मेदवार स्वयं जबाफदेही हुनुपर्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।