बालुवाटारमा कलाकार : चुनाव सफल बनाउन भूमिका खेल्न प्रधानमन्त्री देउवाको आग्रह

Image

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका खेल्न कलाकारलाई आग्रह गरेका छन् ।

आइतबार बेलुका नेपाली फिल्म र संगीत क्षेत्रका दुई दर्जन कलाकारलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवा र पत्नी तथा कांग्रेस नेतृ आरजु राणाले अन्तरक्रिया गरे ।

देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकसामु कलाकारको सम्पर्क हुने र त्यसतर्फ चुनाव सफल पार्नेतर्फ सकारात्मक सन्देश प्रवाह गर्न प्रधानमन्त्री दम्पतीले आग्रह गरेका हुन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामादेखि पछिल्लो छिमलका फिल्म कलाकार, निर्माता, निर्देशक, मोडल, गायक, चलचित्र पत्रकारलाई बोलाएर देउवाले अन्तरक्रिया गरेका हुन् ।

उक्त अन्तरक्रियामा प्राविधिक संघका अध्यक्ष लामाले नेपाली फिल्म क्षेत्रलाई सघाउन सरकारको भूमिका जरुरी रहेको बताएका थिए । अन्य कलाकारले समेत नेपाली फिल्म र संगीत क्षेत्रको पछिल्लो परिस्थितिबारे प्रकाश पारेका थिए ।

जवाफमा प्रधानमन्त्री पत्नी राणाले नेपाली फिल्म र संगीत क्षेत्रलाई सघाउन आफूहरु तयार रहेको बताएकी थिइन् । अन्तरक्रियामा प्राविधिक संघका अध्यक्ष लामाले प्रधानमन्त्री देउवाले यसअघि गरेका प्रतिबद्धताको स्मरण गराएका थिए । गत साता निर्वाचन आयोगले पनि कलाकारलाई बोलाएर निर्वाचन सफल बनाउन आग्रह गरेको थियो ।