आजदेखि अतिरिक्त मात्रा खोप क-कसले पाउँछन् ?

Image

२० पुस, काठमाडौं ।  सरकारले आजदेखि कोभिड १९ विरूद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ। कोभिड १९ विरूद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मध्यम तथा गम्भीर रूपमा कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ।

अधिकारीका अनुसार केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको हो।

मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिले अतिरिक्त खोप लगाउन पाउनेछन्।

लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई थप मात्रा खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ।