बैतडी । एमाले बैतडीको उपाध्यक्षमा रमिल बम चयन भएका छन्। भरतसिंह महराले आफ्नो उमेदवारी फिर्ता लिएपछि बम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। पार्टीको जिल्ला पदाधिकारीका लागि अध्यक्षका उम्मेदवारद्वय सुरेन्द्र पाल र गोरखबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए।
पाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार रमिल बम निर्वाचित भइसकेका छन् भने सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्। यसैगरी चन्द प्यानलबाट उपाध्यक्षका उम्मेदवार महराले उम्मेदवारी फिर्ता लिए पनि सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र जनकबहादुर चन्दले उम्मेदवारी दिएका छन्। सहमतिमा निर्वाचन सम्पन्न गर्न दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो।
आजै बिहान ११ बजेबाट मतदान हुने भनिए पनि सहमतिको प्रयास भइरहेकाले मतदान हुन सकेको छैन। जिल्लाभरिबाट पाँच सय ३५ जना प्रतिनिधिले मतदान गर्नेछन्।- दिनेश खबरबाट












