Khabar Board
Flash logo up side
flash header

यस्तो छ राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा

Nirbachan m

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । १० वर्षअघि नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

गएको १० वर्षको तुलनामा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९७६ ले बढी हो । १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ । गएको १० वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत देखिएको छ । त्यो अघिल्लो जनगणनामा १.३५ प्रतिशत थियो ।

जनगणनाको प्रारम्भिक तथ्यांकानुसार पुरुषको तुलनामा महिलाको जनसंख्या बढी देखिएको छ । एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६%) र एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) देखिएको छ । १० वर्षअघि ०६८ सालको जनगणनामा कुल जनसंख्यामध्ये पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ प्रतिशत र ५१.५ प्रतिशत थियो । हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात (१०० जना महिलामा पुरुषको संख्या ९५.९१ रहेको छ

जनगणना घर र परिवार संख्या

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवारहरू जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेका देखिएको छ । अर्थात्, १० वटा घरमा औसतमा १२ परिवार बसोबास गरेको देखिएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिएको विभागले जनाएको छ ।

परिवारको आकार

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिन्छ, त्यो ०६८ मा ४.८८ जना थियो । सहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिएको छ । १० वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिएको छ ।

प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेस प्रदेशमा सबैभन्दा बढी (५.६६ जना) रहेको छ । ०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना थियो ।

जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा (३.४१ जना) देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहट जिल्लामा ५.९२ जना देखिएको छ ।

भौगोलिक क्षेत्रअनुसार जनसंख्या, लैंगिक अनुपात र वृद्धिदर

भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश ०६८ सालको तुलनामा ०७८ मा वृद्धि भएको देखिएको छ । ०६८ को जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा ०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा ०७८ मा केही कम भई ६.०९ प्रतिशत देखिएको छ ।

त्यसैगरी, पहाडी क्षेत्रमा ०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ ।

१० वर्षको अवधिमा लैंगिक अनुपात तराईमा १ प्रतिशत विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३ प्रतिशत र ४ प्रतिशत विन्दुले बढेको देखिन्छ । यो ०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकोमा ०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार क्रमशः ९७, ९५ र ९६ देखिएको छ ।

वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक देखिएको छ । हिमाली क्षेत्रमा ०.०२ प्रतिशतले ऋणात्मक देखिएको छ । पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक ०.२९ प्रतिशत र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक १.५६% प्रतिशत वृद्धि देखिएको छ ।

प्रदेशअनुसारको जनसंख्या, परिवर्तन र वृद्धिदर

प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेस प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ, त्यो समग्रको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत छ । लैंगिक रूपले विश्लेषण गर्दा लैंगिक अनुपात सबैभन्दा धेरै मधेस प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको विभागले जनाएको छ ।

प्रदेशगत रूपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा सात प्रदेशहरूमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि देखिएको विभागले जनाएको छ । दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेस प्रदेश रहेको छ । यसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम नै देखिन्छ।

Center article

जिल्लाअनुसारको जनसंख्या र वार्षिक वृद्धिदर

प्राप्त प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्ला बनेका छन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा पर्छन् । जिल्लाअनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्युठानको ८२ छ ।

जिल्लागत वार्षिक जनसंख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । त्यो ०६८ को जनगणनाअनुसार २७ वटा जिल्लामा ऋणात्मक देखिएको थियो । यसैगरी, सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछाममा ऋणात्मक १.६५ प्रतिशत रहेको छ ।

हिमाली जिल्लाहरूमध्ये मुगुमा सबैभन्दा बढी १.८० प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर देखिएको छ ।

ग्रामीण—सहरी जनसंख्या वितरण

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा ०७८ सालको कुल जनसंख्यामा सहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या ३३.९२ प्रतिशत रहेको छ । संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रानुसार वर्गीकरण गरी ०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसंख्या ३६.८१ प्रतिशत थियो ।

राष्ट्रिय जनगणना ०६८ मा ५८ वटा नगरपालिका रहेको अवस्थामा कुल जनसंख्याको १७.०७ प्रतिशत सहरी जनसंख्या र ८२.९३ प्रतिशत ग्रामीण जनसंख्या थियो ।

स्थानीय तहअनुसारको जनसंख्या वितरण

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार सबैभन्दा धेरै जनसंख्या भएका पाँच पालिकाहरूमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकाहरूमा क्रमशः ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालीगुराँस नगरपालिका र जिरी नगरपालिका रहेका छन् ।

सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेको छ । २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ छ भने एक लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ र सबैभन्दा कम जनसंख्या नार्पाभूिम गाउँपालिकामा ४४२ जना छन् । १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजारभन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेको छ ।

जनघनत्व
राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किमि पुगेको छ । ०६८ सालमा १८० जना मात्र थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेकोमा ०७८ को प्रारम्भिक नतिजाअनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको देखिएको छ ।

राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै पाँच हजार १०८ जना प्रतिवर्ग किलोमिटर र मनाङमा सबैभन्दा कम तीनजना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ ।

जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौँ जिल्लाहरू हुन् । त्यसैगरी, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जना प्रतिवर्ग किमिभन्दा कम रहेको छ । तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर (१६६ जना) र पहाडमा रुकुम पूर्व (३५ जना) पर्छन् ।

राष्ट्रिय जनगणना–२०७८ नेपालको १२औँ र वि.सं. २०७२ मा जारी भएको नेपालको संविधानपछिको पहिलो जनगणना हो । यस जनगणनामा पहिलो चरणको स्थलगत कार्य ०७८ भदौ ३० देखि असोज १८ गतेसम्म र दोस्रो चरणको स्थलगत कार्य ०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सम्पन्न भएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.