हेटौंडा–३ का वडा सचिव ढुंगेल सेवा निवृत्त, सम्मानसहित विदाइ

Image

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–३ वडा कार्यालयका वडा सचिव विदुर प्रसाद ढुंगेल लामो सरकारी सेवा पूरा गर्दै उमेर हदका कारण सेवा निवृत्त भएका छन्। विक्रम संवत् २०८२ चैत ३० गतेदेखि अधिकृत स्तर छैटौँ पदबाट निवृत्त भएका उनलाई वडा कार्यालयले सम्मानसहित विदाइ गरेको हो।

ढुंगेलले २०५९ वैशाख २० गते सहायक स्तर तेस्रो टाइपिस्ट पदबाट सरकारी सेवा यात्रा सुरु गरेका थिए। करिब दुई दशकभन्दा बढी समयसम्म निरन्तर सेवा दिँदै उनले अनुभव, जिम्मेवारी र नेतृत्व क्षमता प्रदर्शन गर्दै अधिकृत स्तर छैटौँ तहका वडा सचिवको जिम्मेवारी सम्हालेका थिए।

उनले आफ्नो कार्यकालमा वडा प्रशासनलाई व्यवस्थित, सेवा प्रवाहलाई सहज र जनतामुखी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको वडा कार्यालयले जनाएको छ। स्थानीय नागरिकसँग समन्वय, पारदर्शिता र उत्तरदायित्वमा आधारित कार्यशैलीका कारण उनी कर्मचारी तथा सेवाग्राहीबीच लोकप्रिय रहेको उल्लेख गरिएको छ।

विदाइ कार्यक्रममा वक्ताहरूले ढुंगेलको इमान्दारिता, लगनशीलता र कर्तव्यनिष्ठाको प्रशंसा गर्दै उनको योगदानको उच्च मूल्यांकन गरेका थिए। कार्यक्रममा उनलाई दोसल्ला, सम्मानपत्र तथा मायाको चिनोसहित विदाइ गरिएको थियो।

वडा कार्यालयले दीर्घ सेवापछि अवकाश जीवन सुरु गरेका ढुंगेलको आगामी दिन सुखद् र सफल रहोस् भन्ने कामना पनि व्यक्त गरेको छ।