Khabar Board

खुमलटारमा प्रचण्ड-नेपालबीच छलफल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

बुधबार बिहान प्रचण्डलाई भेट्न नेपाल उनको निवास खुमलटार पुगेका थिए। उनीहरूबीच समसामयिक राजनीतिक विषयवस्तुबारे कुराकानी भएको बताइएको छ। पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन गर्ने/नगर्नेबारे सत्तारूढ गठबन्धनका दलहरूबीच विवाद छ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमसिसी संसदमा टेबल गर्न दबाब दिइरहेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र यो विषयमा एकमत छैन। यसअघि सत्तारूढ गठबन्धनका नेताहरू छलफल गर्न प्रधानमन्त्रीको निवास बालुवाटारमा जाने गर्थे। बुधबार नेपाल प्रचण्डलाई भेट्न उनकै निवासमा पुगेका हुन्।

यस्तै, भेटमा कर्णाली प्रदेशका नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका सांसद पनि सहभागी थिए। बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले कर्णाली मन्त्रिपरिषद्को बारेमा छलफल भएको बताए।

उनका अनुसार कर्णालीमा एकीकृत समाजवादीलाई ३ मन्त्रालय दिने भने पनि २ वटा मात्र मन्त्रालय दिएकोबारे छलफल भएको हो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.