भारतले बढाएपछि नेपालमा फेरि पेट्रोलियम पदार्थकाे मूल्य बढ्ने संकेत !

Image

काठमाडौं । भारतीय आयल कर्पोरेसनले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । बुधबार प्राप्त नयाँ मूल्यअनुसार प्रति लिटर पेट्रोल ५.६१ रुपैयाँ, डिजेल ५.६२ रुपैयाँ र हवाई इन्धन ४.९५ रुपैयाँले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

जसले गर्दा निगमलाई आगामी १५ दिनमा करिब दुई अर्ब ४१ करोड घाटा हुने देखिएको निगमले बताएको छ ।

निगमकाअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्र निगमले करिब २४ अर्ब नोक्सानी बेहोरिसकेको छ ।

हाल भारतको सीमावर्ती बजार रक्सौलभन्दा नेपालको वीरगञ्ज क्षेत्रमा प्रति लिटर पेट्रोल ३२ रुपैयाँ, डिजेल २५ रुपैयाँ, एलपी ग्यास प्रति सिलिन्डर ५० रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कलकत्ताभन्दा काठमाडौंमा ३५ रुपैयाँले सस्तो भएको निगमा सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिएका छन् ।

पेट्रोलियम पदार्थ आपूर्ति गर्न आवश्यक रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई थप कठिन हुने बताएको निगमले मूल्य बढाउनेतर्फ संकेत गरेको छ।