प्रधानमन्त्री देउवा : संसदले एमसीसी टुङ्गो लगाउनैपर्छ

Image

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भए पनि एमसीसीबारे संसदले टुङ्गो लगाउने बताएका छन् । काँग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण नभएको बताएका थिए । उनले संसद् नै जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे संसदले निर्णय दिने बताए ।

‘हामी एमसीसीको पक्षमा छौँ । हाम्रो पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । अब पास फेल जे हुन्छ संसदले टुङ्ग्याउनुपर्छ’, देउवाले भने ।

एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको भन्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुदान नेपालको हितमा रहेको दाबी गरे । ‘एमसीसी देशको हितमा छ । काँग्रेसले एमसीसीको पक्ष लिन डराउनुपर्ने केही छैन’, देउवाले भने ।

उनले एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउन पहल भइरहेको समेत जानकारी दिए ।