काठमाडौं ।
घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालले जितेको छ । सोमबार पपुवा न्यूगिनीलाई ५० रनले हराउँदै नेपालले सिरिज जितेको हो । योसँगै नेपालले इतिहास रचेको छ ।
नेपालले पहिलोपटक मलेसिया र पिएनजी सम्मिलित सिरिज जित्दै इतिहास रचेको हो । साथै, नेपालले एकदिवसीय सिरिज गुमाएको बदला पनि टी–२० मा लिन सफल भयो । घरेलु मैदानमै भएको पिएनजीविरुद्धको एकदिवसीय सिरिज नेपालले २–० ले गुमाएको थियो ।
पिएनजीले भने जित यात्रा कायम राख्न सकेन । त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । उसका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए ।
नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले करियरकै उच्च बलिङ प्रदर्शन गरे । उनले चार ओभरमा १८ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । टी–२० अन्तर्राष्ट्रियमा ऐरीको यो करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।
यसअघि यो प्रारूपमा उनको उच्च बलिङ ४ ओभरमा २१ रन दिएर ४ विकेट लिनु थियो । त्यस्तै, करण केसीले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले ।
उनले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रनको आक्रामक पारी खेले । त्यस्तै, आसिफ शेख २९, कुशल भुर्तेल २५, मोहम्मद आदिल आलम १५, रोहित पौडेल दुई, आरिफ शेख र दिलिप नाथ शून्यमा आउट भए । पिएनजीका सेमो कामियाले सर्वाधिक तीन विकेट लिए ।