Khabar Board

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई पक्राउ अनुमति दिएको हो । जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।

उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रकम अवैध तरिकाले आएको एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ । लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका हुन् । उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.