कैदीबन्दीहरुलाई औषधि नपाएर समस्या

Image

हेटौंडा । चिसोको कारण रुघाखोकी लागेर बिरामी परेका कारागार भीमफेदीका कैदीबन्दीहरु औषधि नपाएर समस्यामा परेका छन् । कैदीबन्दीलाई रुघाखोकी लागेको छ साथै केहीलाई सामान्य ज्वरोसमेत आएको छ । यस्तो अवस्थामा जेल प्रशासनले उनीहरुलाई औषधि उपलब्ध गराउन सकेको छैन ।

रुघाखोकी लागेकालाई डिकोल्ड, साइनेक्स दिनुपर्ने तर त्यो औषधि एक ट्याब्लेट पनि छैन भनेर जेलर मदन लामाले भने के दिनु । जेल प्रशासनसँग ज्वरो आएको अवस्थामा खानका लागि थोरै मात्रामा सिटामोल छ तर त्यो पनि सकिन लागेको उनले बताए । कारागारका एक हजारभन्दा बढी कैदीबन्दी बस्छन् । उक्त कारागारका निम्ति औषधि खर्चका लागि सरकारले ४ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम पुस नलाग्दै सकिसकेको जेलर लामाले बताए । ‘उनलेभने चार लाख रुपैयाँको त सिटामोल नै किन्दा सकिन्छ । अहिले डिकोल्ड साइनेक्सको अभावले कैदीबन्दीलाई समस्या भएको जेल प्रशासनले जनाएको छ । अब केही दिनभित्रमा सिटामोल पनि सकिने त्यहाँका एक कर्मचारीले बताए । सरकारले दरबन्दी भएको स्वास्थ्यकर्मी त पठाएन औषधिका लागि पुग्दो रकम पनि पठाएन ती कर्मचारीले भने । एक हजार कैदीबन्दीलाई एक वर्ष को लागि औषधि उपचार खर्च ४ लाख रुपैयाँ दिन्छ यसले के गर्नु ।

यसैगरी कोरोनाका कारण चार दिनयता कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गराएको छ । अधिकांश कैदीबन्दीले कोरोनाविरुद्धको दोस्रो खोप लगाइसकेका छन् । नयाँ आएकालाई खोप लगाउने तयारी भइरहेको पनि छ । र बाहिरबाट जेलमा आएकालाई ७ दिनसम्म छुट्टै कोठामा राखेर र परीक्षण गरेर मात्र कारगारभित्र पठाउने गरिएको छ । कारागारभित्र संक्रमण नहोस् भनेर स्वास्थ्य सुरक्षाको व्यवस्था गरिएको जेलर लामाले बताए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका ६२ जनामध्ये चार जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुलाई छुट्टै कोठामा राखेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताए । संक्रमित चारै जना लागूऔषध मुद्दाका आरोपित हुन् । (कान्तिपुर दैनिकबाट)