काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकलौटी शासन लादेको भन्दै शेखर समूहले असन्तुष्टि पोखेको छ ।
समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगरी मनोमानि ढंगले सत्ता गठबन्धनभित्र मात्र छलफल गरेको भन्दै असन्तुष्टि पोखिएको छ ।
साथै बैठकले वर्तमान गठबन्धन निर्वाचनसम्म लगे कांग्रेसलाई घातक हुने निष्कर्ष निकालेको छ ।
“प्रधानमन्त्रीज्यू जो हाम्रो पार्टीको सभापति हुनुहुन्छ उहाँले केही सीमित मानिसहरूको साथ लिएर पार्टीभित्र सामान्य छलफल पनि नगरी स्थानीय तहको चुनाव र राष्ट्रिय मुद्दाहरूको विषयमा गठबन्धनभित्रै रूमलिएको विषयमा गहन छलफल भयो,” बैठकमा सहभागी एक नेताले बाह्रखरीसँग भने ।
बैठकबाट समूहले निर्वाचनजस्तो राष्ट्रिय महत्वको विषय पार्टीको केन्द्रीय समितिमा छलफल नभइ गठबन्धनका नेताहरूमाझ मात्र सभापतिले सीमित गर्नु बिडम्वना भएको भन्दै पार्टीभित्र र बाहिर गर्ने क्रियाकलापहरूमा पार्टीकोे केन्द्रीय समितिमा छलफल हुनुपर्ने माग राखेको छ ।
“पार्टीभित्र छलफल नै नगरी सभापतिले एकलौटी ढंगले गठबन्धनका नेताहरू भेटेर धारणा तय गर्ने पार्टीको आधिकारिक धारणा यो हो भन्ने हामीलाई मान्य नहुने बैठकको निष्कर्ष रह्यो,” ती नेताले भने ।
भर्चुअल बैठकबाट शेखर समूहले वर्तमान सरकारले संवैधानिक मर्म अनुरूप नै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ । साथै अब हुने तीनै तहको निर्वाचनमा गठबन्धनको भारी बोक्न नहुने बैठकले निर्णय पनि गरेको ती नेताले बताए ।
“वैशाखमा स्थानीय तहको चुनाव हुनुपर्ने हाम्रो निष्कर्ष रह्यो, साथै तीन तहकै चुनाव कांग्रेसले एक्लै लड्नुपर्छ,” ती नेताले भने,“त्यसका लागि पार्टीभित्र एकता कायम गर्नुपर्छ भन्ने निर्णय रह्यो ।”
बैठकमा सभापति देउवाले ४० प्रतिशत भन्दा बढी मतको बेवास्ता गरेको विश्लेषण गरिएको पनि ती नेताले बताए । नेता अर्जुननरसिंह केसीले पार्टीभित्र न्यायिक साझेदारीको अवसर सभापति देउवाले उपलव्ध नगराएको भन्दै आक्रोश पोखेका थिए ।
यस्तै शेखर कोइराला समूहबाट जितेका उपसभापति, महामन्त्री, सहमहामन्त्री पदाधीकारीहरूसँग सभापतिले छलफल र सरोकार नराखेको विषयमा समेत छलफल भएको थियो ।
“यतिसम्म कि महामहामन्त्रीसँग पनि समन्वय भएको छैन । महामन्त्री आफैँ गयो सभापतिलाई भेट्यो आयो तर छलफल गर्न सभापतिको केही चासो नै छैन,” ती नेताले भने,“पार्टी सभापतिले पदाधिकारीहरू बोलाएर कसरी पार्टी अघि बढाउने भन्ने विषयमा छलफलसमेत भएको छैन ।”
बैठकमा समूहका नेता शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसीलगायतका नेताको सहभागिता रहेको थियो ।
















