हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्र संगै मकवानपुरगढी गाउँपालिको बुढीचौरको डाँडाहरुमा हिमपात भएको छ भने हेटौंडासहित जिल्लाको विभिन्न स्थानमा वर्षा सुरु भएको छ । मकवानपुरको हेटौंडामा वर्षा संगै हिमपातका कारण चिसो निकै बढेको छ ।
मेघ गर्जनसहित वर्षा हुँदा चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । बुढीचौरमा पहिलो पटक र सिमभञ्याङ र दामन क्षेत्रमा भने यस वर्षको तेस्रो पटक हिमपात भएको हो ।
यस वर्षको गएको पुष १४ र माघ ६ गते सिमभञ्ज्याङ र दामन क्षेत्रमा हिमपात भएको थियो । गएराति वर्षा संगै हिमपात भएको कारण हेटौंडा काठमाण्डौ पुरोनो राजमार्ग त्रिभुवन राजपथ, सिमभञ्याङ र दामन सडक अवरुद्ध भएको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खोडपेले जनाएको छ । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ ।
राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन् । उक्त राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ । यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाड जान हिँडेका सवारी तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
गए रातिदेखि जिल्लाका विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातकाका कारण नागरिक घरबाहिर निस्किन कठिन भएको छ ।
पानीका मुहानदेखि रुखहरुमा समेत बाक्लो हिउँ जमेका कारण गाईवस्तुलाई घाँस काट्न र मानिसलाई पानी खानसमेत समस्या भएको पाटन नगरपालिका – ८ का प्रबिन बिष्टले जानकारी दिनुभयो।















