Khabar Board

अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी व्यक्ति को हुन् ?

नयाँ दिल्ली । भारतमा कोइला टाइकुन गौतम अदानीले पहिलोपटक मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सर्वाधिक धनी व्यक्तिको नाम कमाएका छन् । यसमा हरित ऊर्जाले उनको सम्पति बढाएर ९०.४ अर्ब डलर पुर्याएको बताइएको छ ।

फोब्र्सका अनुसार मुकेशलाई पछि पार्दै अदानी अहिले विश्वका सर्वाधिक धनीहरुको सूचीमा शीर्ष दशमा पुगेका हुन् । गत वर्ष उनको व्यक्तिगत सम्पति १२ अर्ब डलरले वृद्धि भएको छ । यति मात्र नभएर उनी फेसबुकका संस्थापक मार्क जुकरबर्ग भन्दा अगाडि आउन पनि सफल भएका हुन् । जुकरबर्गको कम्पनी मेटाको शेयर नराम्ररी ओरालो लागेपछि उनको व्यक्तिगत सम्पति पनि ३० अर्ब डलरले घटेको थियो।

अदानी यसअघि अष्ट्रेलियाको कोइला उत्खनन् परियोजनालाई लिएर विवादमा आइरहेका थिए । तर आफ्नो बाटो बदल्दै उनले हरित ऊर्जामा लगानी बढाएका हुन् ।

उनको अदानी ग्रुपले उनको गृहजिल्लामा रहेको भारतको सबैभन्दा ठूलो बन्दरगाह, मुन्द्रालाई पनि सञ्चालन गर्दै आएको छ । त्यस्तै मुम्बइ अन्तर्राष्ट्रिय विमानस्थलको ७४ प्रतिशत हिस्सा पनि अदानीकै स्वामित्वमा रहेको छ ।

तर गतवर्ष उनले हरित ऊर्जातर्फ केन्द्रित रहँदै अदानी ग्रिन एनर्जी स्थापित गरेका हुन् जुन हाल उनको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । यसको शेयर पछिल्लो एक वर्षमा दुई गुणाले बढेको छ ।

अदानी समूहले हरित ऊर्जामा ७० अर्ब डलर खर्च गर्ने तयारी गरिरहेको छ जसले यसलाई विश्वकै सबैभन्दा ठूलो नवीकरण ऊर्जाा उत्पादक बनाउनेछ ।

अदानी वास्तवमा भारतको कार्बन उत्सर्जन कम गराउने प्रधानमन्त्री मोदीको लक्ष्यबाट प्रेरित भएका थिए । ग्लासगोको जलवायु सम्मेलनमा भारतले २०३० सम्ममा जिवास्म रहितको ५०० गिगावाट इन्धन क्षमता सिर्जना गर्ने र ५० प्रतिशत विजुली नवीकरण ऊर्जाबाट प्राप्त गर्ने संकल्प गरेको थियो । यस्तोमा अधिक उत्तम समयमा हरित ऊर्जा उद्योगमा प्रवेश गरेकाले पनि अदानी ग्रुप द्रुत गतिमा अगाडि बढिरहेको बताइएको छ ।

तर हरित ऊर्जामा ठूलो लगानीको योजना भएपनि अदानी ग्रुप अष्ट्रेलियाको कोइला खानी सम्बन्धी परियोजनाबाट पछि हटेको छैन । सो परियोजना विरुद्ध जिवास्म विरोधी अभियन्तादेखि वातावरण संरक्षणवादी र आदिवासी सम्मले आवाज उठाइरहेका छन् । द गार्जियन

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.