काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले फागुन र चैत महिनाभरि पढ्न दिने र वैशाखमा परीक्षा, नतिजा र भर्ना अभियान सञ्चालन गर्न सकिने विकल्पबारे छलफल भइरहेको बताए ।
“देशभरका प्रधानाध्यापकहरूसँग अनौपचारिक छलफल सुरु गरेका छौँ । मसँग सम्पर्कमा रहनुभएका ९५ प्रतिशतले चैतसम्म अध्यापन र जेठबाट पठनपाठन सुरु गर्नु ठिक हुने सल्लाह दिएका छन्,” आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने ।
वैशाखमा परीक्षा, परीक्षाको नतिजा, भर्ना अभियान तथा पाठ्यपुस्तक मुलुकभर पुर्याउनुपर्ने र वैशाख ३० को चुनावमा शिक्षकको धेरै मात्रामा परिचालन हुने भएकाले नयाँ शैक्षिक सत्र ढिलो गर्न नहुने उनको मत छ ।
कोभिड १९ कारण यस वर्षको शैक्षिक सत्र असारबाट सुरु भएको थियो । विद्यार्थीको वर्ष ग्याप नहोस् र पठनपाठनमा सहजीकरण होस् भनेर शिक्षा मन्त्रालयले पाठ्यक्रममा सङ्क्षेपीकरण गरेको थियो । तर कोरोनाको दोस्रो लहरमा बन्द भएका विद्यालयहरू मुलुकैभर कात्तिक लागेपछि मात्रै पूर्ण रूपमा खुले ।
गत पुसमा कोरोनाको तेस्रो लहर बढेपछि माघमहिनाभरि विद्यालय बन्द भए । आइतबारबाट विद्यालय पुन: सञ्चालनमा आएका छन् । यसरी खुलेका विद्यालयले पाठ्यक्रम चैत महिनाभित्र सकाउनुपर्ने छ । कतिपय विद्यालयले पाठ्यक्रम करिब ८० प्रतिशत समाप्त गरिसकेका छन् भने कतिपय विद्यालयले ५० प्रतिशत मात्र सकाएका छन् । विशेषगरी वैकल्पिक माध्यमबाट पढाउन नसकेका विद्यालयहरू धेरै छन् । त्यस्ता विद्यालयहरूमा पढ्ने विद्यार्थीको पढाइबारे शिक्षा मन्त्रालय मौन छ ।
काठमाडौंको सरकारी विद्यालय दरबार हाई स्कुलकी प्रधानाध्यापक शारदा पौडेल अनलाइनमा ६० प्रतिशत मात्र विद्यार्थी सहभागी भएको बताउँछिन् । उननले असारबाट नयाँ शैक्षिकसत्र सुरु गर्दा ठिक हुने बताइन् ।
“अनलाइनबाट सबैलाई समेट्न सकेका छैनौँ । पठनपाठन र परीक्षाको नाममा कर्मकाण्ड मात्र गरेर हुन्न । वैशाखसम्म पठनपाठन गरौँ,” उनले भनिन् ।
यसैगरी महिला शिक्षक समाजकी उपाध्यक्ष रिता तिवारीले पाठ्यक्रम सकाउनुमात्रै ठूलो कुरो नभएको बताइन् । उनले पनि नयाँ शैक्षिक सत्र असारबाटै सुरु गर्नु उचित हुने भन्दै भनिन्, “विद्यार्थीले कति सिके, त्यसको समीक्षा हुनुपर्छ । राजधानीको मात्रै हेरेर भएन । दुर्गमका कोर्स सकेको छैन ।”
तर ललितपुरस्थित प्रगति शिक्षा सदनका प्रधानाध्यापक सूर्य घिमिरे भने शैक्षिक सत्र कुनै पनि हालतमा ढिलो गर्न नहुने बताउँछन् । उनले आफ्नो विद्यालयमा चैतको अन्तिम साताबाट परीक्षा लिन र वैशाखको १६ बाटै नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने बताए ।
शिक्षण संस्थाहरूको संगठन प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारीले कोभिड १९ को संक्रमणले विद्यार्थीको पढाइमा पारेको प्रभावको असर दस वर्षपछि देखिने भन्दै भने, “भोलि ती विद्यार्थी रोजगारीका लागि सरकारी सेवामा जान खोज्दा उमेरअनुसार शैक्षिक योग्यता नहुँदा उनीहरूकै भविष्यमा असर पर्नेछ ।”
उनले कोभिड १९ विश्वभरि नै फैलिएको बताउँदै भने, “छिमेकी देश भारतमा कोभिडको नाममा शैक्षिक सत्र लम्ब्याउने काम भएन । हामीले गर्नुहुन्न ।”
उनले प्याब्सनमा आवद्ध विद्यालयहरूले फागुन २२ देखि चैत १ सम्म आन्तरिक परीक्षा लिने, बिहान र बेलुकाको समयलाई समेत सदुपयोग गरेर पठनपाठन गराएको बताए ।














