मकवानपुरको राक्सिराङ गाउँपालिकामा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी

Image

हेटौंडा । मकवानपुरको  राक्सिराङ गाउँपालिका–७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीहरुसँग मंगलबार अस्पतालमै पुगेर यसबारे छलफल गरेका हुन् ।

अस्पतालले प्रदान गरिरहेका सेवा सुविधाहरुको बारेमा जानकारी लिँदै राज्यमन्त्री प्रजाले विपन्न चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको र विकट गाउँमा स्वास्थ्य सेवाको आवश्यकताबारे अस्पताल पदाधिकारीहरुसँग छलफल गरेका थिए । चार शैयाको शाखा अस्पताल सञ्चालन गर्नेबारे धुलिखेल अस्पतालका पदाधिकारी सहमत भएको राज्यमन्त्री प्रजाले बताए ।

राज्यमन्त्री प्रजाको पहलमा धुलिखेल अस्पतालले यसअघि दुइपटक गर्लिङको क्षेत्र निरीक्षण गरिसकेको छ । राज्यमन्त्रीसँगको छलफल सकारात्मक भएको र गाउँलेको आवश्यकताको आधारमा स्वास्थ्य सेवा प्रदान गर्ने सोच बनाइएको धुलिखेल अस्पतालका पब्लिक हेल्थ अफिसर सुदिप श्रेष्ठले जानकारी दिए ।

पब्लिक हेल्थ श्रेष्ठले भने, अफिसर गाउँपालिकासँग छलफल गर्ने तयारी गरेका छौं । जग्गा, भवन, उपकरणलगायत पूर्वाधार तयार गर्न स्थानीय तह र अन्य निकायसँग सहकार्य गरेर अघि बढिनेछौ । गर्लिङमा अस्पताल निर्माण गर्ने सोचका साथ भौतिक पूर्वाधार राज्यमन्त्री प्रजाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको ५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका छन् ।

धुलिखेल अस्पतालले नागरिकको स्वास्थ्य आवश्यकताको पहिचान गर्नुका साथै अन्य अवस्थाबारे जानकारी लिन तत्कालको लागि फागुन मसान्तसम्ममा राक्सिराङमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी गरेको पनि जनाएको छ ।

राज्यमन्त्रीसँगको छलफलमा अस्पतालका डाइरेक्टर रामकण्ठ माकाजु, संस्थापक डा राजेन्द्र कोजु, अर्थोपेडिक सर्जन डा। दीपक श्रेष्ठ, क्लिनिकल डाइरेक्टर डा। बलराम मल्ल, सामुदायिक विभाग लगायत पब्लिक हेल्थ डाइरेक्टर डा। विराजमान कर्माचार्यको उपस्थिति रहेको थियो ।

साथै काभ्रेको धुलिखेल नगरपालिका–६ मा रहेको धुलिखेल अस्पतालले हालसम्म देशभर १८ वटा शाखा विस्तार गरी स्वास्थ्य सेवा दिइरहेको अस्पतालले जनाएको छ ।