हेटौंडा । पछिल्लो समय चिठ्ठा पर्यो भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको र सबै सचेत रहन प्रहरीले अनुरोध गरेको छ। विद्युतीय कारोबारमार्फत ठगी बढेकोले सचेत रहन प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी काठमाडौंले अनुरोध गरेको हो।
पछिल्लो समयमा विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा केही समयदेखि केही व्यक्ति, अपराधिक समुहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, इमो लगायतका विभिन्न समाजिक सञ्जालमार्फत भिडियो, अडियो तथा म्यासेज गरी मोबाइल बैंकिङ प्रयोगकर्ताको नाम तथा पासवर्ड माग्ने, नक्कली वेवसाइड बनाइ ग्राहकहरुको गोप्य सुचना लिने तथा तपाईंलाई यति रकम चिठ्ठा परेको छ र उक्त चिठ्ठा परेबापत ट्याक्स भर्नुपर्ने भएकोले बैङ्क तथा अनलाईन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको पाइएको हुँदा यस्ता भ्रामक कुरामा विश्वास नगर्नु हुन साथै कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी कोड वा संवेदनशील विषयको जानकारी कोही कसैलाई पनि नदिई प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुनबाट सतर्कता अपनाउन साइबर ब्यूरो अनुरोध गर्दछ’, साइबर ब्यूरोले निकालेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय ब्यवस्थापन विभागद्वारा समय समयमा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि जारी भएका सूचना समेतबाट जानकारी लिनु हुन अनुरोध गरेका छन्। 
















