इमर्जिङ नेपाल लिमिटेडको आइपिओ तीन दिनमै बाँडफाँट, ८ जनालाई ११ कित्ता

Image

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले सेयर निष्काशन तथा बिक्री बन्द भएको तीन दिनमै बाँडफाट गरेको हो।क्यापिटलले फागुन १ गतेसम्म सर्वसाधारणका लागि आइपिओ खुलाएको थियो।

कम्पनीको आइपिओमा २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको थियो।

कुल आवेदक मध्ये २ हजार ५५२ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ। बाँकी रहेको २३ लाख २८ हजार २०६ योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता सेयर माग गरेको थियो। यो कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ५१.१५ गुणा बढी हो।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाद्वारा न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ। त्यस अनुसार कम्पनीको आइपिओमा आवेदन गर्ने योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले न्युनतम १० कित्ताको दरले सेयर पाएका छन्।

यसरी वितरण गरेर बाँकी रहेको ८ कित्ता सेयर भने पुन: सोही मध्येबाट २० कित्ता भन्दा बढी १००० कित्तासम्म आवेदन दिने ८ जनालाई एक एक कित्ताको दरले बाँडफाँट गरिएको थियो। त्यस अनुसार अधिकतम सेयर पाउने आवेदकले ११ कित्तासम्म सेयर पाएका छन् ।

कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ। आइपिओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ।

बाँडफाँटको नतिजा एनआइसि एसिया क्यापिटलको वेबसाइट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेबसाइटबाट हेर्न सकिनेछ।