सुदूरपश्चिम र कर्णाली जोड्ने दुई पुल जेठभित्र सम्पन्न हुने

Image

कैलाली । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको सुर्खेत पञ्चपुरी नगरपालिका-११ कुइने र मोहन्याल गाउँपालिकाको कुइने जोडिने तथा चौकुने र मोहन्यालको सोल्टा जोड्ने दुई वटा पुलको काम ९० प्रतिशत सम्पन्न भएको हो।

दुवै पुललाई चैतदेखि जेठभित्रमा हस्तान्तरण गर्नेगरी काम भइरहेको निर्माण कम्पनी अनक-लुम्बिनी जेभीले बताएको छ। ‘दुई वर्ष यसको डिजाइन पास हुन समय लाग्यो,’ इञ्जिनियर दिनेशकुमार श्रेष्ठले भने, ‘चार वर्षे योजना भए पनि डिजाइन पास नहुँदा र कोरोनाका कारण ६ वर्ष लागेको हो।’३२ करोड रुपैयाँ लागतमा २०७२ सालमा कुइने पुल निर्माण थालिएको थियो। यसको लम्बाई तीन सय मिटर छ।

त्यस्तै अनक-लुम्बिनी जेभीले नै २०७४ मंसिरमा सम्झौता गरेको घाटगाउँ–चिप्ले पुल ६२ करोड रुपैयाँमा सम्झौता गरिएको थियो। उक्त पुल पाँच सय ५० मिटर लामो छ। जेठ मसान्तसम्म पुल निर्माणको काम सक्ने निर्माण कम्पनीको लक्ष्य छ। यता कर्णाली नदीमा दुई ठूला पुल बनेपछि स्थानीय समेत हर्षित भएका छन्। पुल सञ्चालनमा आएपछि स्थानीयहरूले उत्पादन बाहिर पठाएर आम्दानी गर्ने सपना बुन्न थालेका छन्।

‘पुल सञ्चालनमा आएपछि यहाँका तरकारी, पशुपक्षी र अन्न सुदूरपश्चिम र लुम्बिनी प्रदेश पठाउन सकिन्छ,’ चौकुने–१० घाटगाउँमा दीपक बिसीले भने, ‘मानिसहरूको आवतजावत पनि बढ्छ। यहाँका धेरै युवाहरू भारत जानुपर्दैन यहीँ सानोतिनो व्यापार व्यवसाय गरे पुगिहाल्छ।’पुलले सुर्खेत, कैलाली, बाँके, बर्दिया, अछाम र डोटीको सम्बन्ध विस्तारसँगै आर्थिक रूपमा पनि फाइदा पुग्ने उनको भनाइ छ।

यस्तै सुर्खेतबाट कोहलपुर हुँदै कैलाली जानुपर्ने र अछाम, डोटी र कर्णालीका हिमाली जिल्लाका नागरिकहरूलाई समेत यो पुलबाट आवतजावत गर्न करिब १६० किलोमिटरको दूरी कम पर्नेछ। पुल सञ्चालनमा आएपछि सुर्खेतको वीरेन्द्रनगरबाट कैलालीको चिसापानीको दूरी ७५ किलोमिटरमा सीमित हुने पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले बताए। अहिले सुर्खेतबाट बाँकेको कोहलपुरसम्मको दूरी ८६ किलोमिटर छ। पुल बनेपछि भारतीय तीर्थयात्रीलाई कैलाश–मानसरोवर जान पनि सहज हुने उनको भनाइ छ।

जग्गाको भाउ आकासिँदै

पञ्चपुरी नगरपालिकाको केन्द्र बाबियाचौर व्यापारिक, प्रशासनिक र शैक्षिक रूपमा अगाडि छ। अहिले कर्णाली र सुदूरपश्चिम जोड्ने दुई वटा पुलको काम अन्तिम चरणमा पुगेसँगै जग्गाको भाउ बढ्दै गएको छ। भारतको सीमाबाट छोटो दूरी पर्ने भएकाले व्यापारीहरूको रोजाइमा पनि बाबियाचौर परेको छ। अहिले यहाँ व्यवसाय गर्नका लागि नेपालगञ्ज, कैलाली, वीरेन्द्रनगर, अछाम र डोटीका व्यपारीहरूले धमाधम जग्गा किनबेच गरिरहेका छन्।अहिले बाबियाचौर, तातोपानी, विद्यापुर र सालकोटमा रोपनीमा पाइने जग्गा मिटरका हिसाबले बिक्री भइरहेको छ। बाबियाचौरमा एक लाखदेखि तीन लाख रुपैयाँ मिटर र अन्य ठाउँमा ८० हजारदेखि डेढ लाख रुपैयाँसम्म जग्गा बिक्री हुने गरेको छ।